काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जानकारी दिएको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
जसअनुसार, आज बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। दिउँसो सबै प्रदेशका पहाडी भू–भागमा साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने पूर्वानुमान छ।
यस्तै, दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जनरचट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार राति देशभर साधरणतया बदली रहने महाशाखाको पूर्वानुमान रहेको छ।
राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भू–भागका केही स्थानहरूमा मेघगर्जन–चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशको उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा –हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।