सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकाले हिमाली गाउँका ६ सय ७५ विद्यार्थीलाई रातो झोला वितरण गर्‍यो - Chaitanya News
  • 2026-05-07
  • 02:29:40
  • बुधबार,बैशाख २३, २०८३
  • सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकाले हिमाली गाउँका ६ सय ७५ विद्यार्थीलाई रातो झोला वितरण गर्‍यो

    सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाकाले हिमाली गाउँका ६ सय ७५ विद्यार्थीलाई रातो झोला वितरण गर्‍यो

    सिन्धुपाल्चोक– पाँचपोखरी थाङपाल गाउँपालिकाका ६ सय ७५ विद्यार्थीलाई शैक्षिक, स्वास्थ्य सामग्री र टोपीसहितको झोला वितरण गरिएको छ।हेलम्बु एजुकेसन एन्ड लाइभलिहुड पार्टनरसीप (हेल्प) द्वारा सोमबार पाँचपोखरी थाङपाल गाउँपालिका–५ गुन्साका सातकन्यामती मावि र कुम्भेश्वरी आधारभूत विद्यालयका सामग्री वितरण गरिएको हो।

    सिन्धुपाल्चोकका पूर्व जिल्ला शिक्षा अधिकारी गेहनाथ गौतम, हेल्पका अध्यक्ष जिमी लामा, वडा नं ५ का अध्यक्ष काले गोले, सातकन्यामती माविका प्रअ प्रेम तामाङ लगायतले उक्त सामग्री वितरण गर्दै उक्त सामग्रीको सदुपयोग गर्न आग्रह गरे। हेल्पले १० वर्षअघि ‘स्कुल इन अ ब्याग’ सुरु गरेको र हालसम्म २० जिल्लाका २१ हजार विद्यार्थीलाई यस्ता सामग्री वितरण गरेको अध्यक्ष लामाले बताए। हेल्पले जिल्लामा मेलम्ची, त्रिपुरासुन्दरी र पाँचपोखरीमा २७ जना साथी शिक्षक पनि सहयोग गरेको लामाले बताए। सातकन्यामती माविका अध्यक्ष कालिका र कुम्भेश्वरी आधारभूत विद्यालयका प्रधानाध्यापक देवी पौडेलले सहयोगप्रति आभार प्रकट गरे।

    कार्यक्रममा गौतमले स्थानीय तहले गुणस्तरीय शिक्षाका लागि धेरै काम गर्न सक्ने बताए। विद्यालय नियमित गराउन तथा स्वास्थ्य सचेतना बढाउन यी सामग्री वितरण गरिएको हेल्पले जनाएको छ। संस्थाले शिक्षामा शिक्षक, सामग्री सहयोग, भवन निर्माण, तालिमलगायत सहयोग गर्दै आएको छ। त्यस्तै कोरोना, बाढी, भूकम्प जस्ता प्रकोप पीडितलाई सहयोग गर्दै आएको छ।