काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउनुपर्ने बताएका छन्।
उनले आज ( आइतबार) राष्ट्रिय धान दिवस, २०८२ को अवसरमा सामाजिक संञ्जलमार्फत शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन् । यस्तै उनले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानुपर्ने समेत बताएका छन्।
उनले भने, ‘आज असार १५, हाम्रो उत्पादन र पसिनाको पर्व, धान दिवस। माटोमा जीवनको सुगन्ध, पानीमा पसिनाको पूजा र यसबाट धानका बाला झुलाउने सपना यो हाम्रो परम्परादेखि चल्दै आएको रोपाइँ संस्कृति हो। आज देश बाहिर भए पनि, बाल्यकालदेखिका रोपाइँको सम्झना आइरहेको छ। तर अब हामीले रोपाइँ र समग्र कृषिलाई आधुनिक र प्रविधिको प्रयोगबाट उत्पादन बढाउने बाटोमा लैजानु पर्छ। त्यसका लागि सरकारले कृषि आधुनिकीकरणको कार्यक्रम ल्याएको छ। कृषिलाई आधुनिक र प्रविधिमा आधारित बनाएर उत्पादन बढाउँ, असार १५, दहीचिउरा खाने दिन तथा धान दिवसको सबैलाई शुभकामना।