काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको अन्तिम तयारी भएको बताएको छ।
केही प्राविधिक कुरा मिलाउने क्रम जारी रहेकोले सकेसम्म आजै नतिजा प्रकाशित गर्ने र त्यो सम्भव नभए भोलिसम्ममा प्रकाशित हुने परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले बताए।
‘केही प्राविधिक विषय मिलाउन बाँकी छ। त्यो मिल्यो भने बोर्ड बैठक बोलाएर नतिजा प्रकाशित हुन्छ’, अध्यक्ष शर्माले रातोपाटीसँग भने, ‘हामी प्रक्रियामै छौ।’
उनले आफू कार्यालय पुगिसकेको भन्दै बोर्ड बैठकका लागि अन्य सदस्यहरूलाई खबर गरिसकेको बताए। २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो । परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ।