भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भिडन्त - Chaitanya News
  • 2026-06-03
  • 10:47:29
  • बुधबार,जेठ २०, २०८३
  • भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भिडन्त

    भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भिडन्त

    काठमाडौं– भारतीय र चिनियाँ सेनाबीच सीमा क्षेत्रमा भिडन्त भएको छ।

    भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाञ्चल प्रदेशको तवांगस्थित याङ्गत्से क्षेत्रमा दुवै सेनाबीच झडप भएको हो।

    चिनियाँ सैनिकहरूले भारतीय सैनिकको पोस्ट हटाउन खोजेपछि झडप भएको भारतीय मिडियाका समाचारमा उल्लेख छ। चिनियाँ सैनिकले काँडेदार लाठीले भारतीय सैनिकमा आक्रमण गरेका जनाइएको छ। चिनियाँ सेनाले ढुंगा प्रहार समेत गरेका आरोप छ।

    झडपमा दुवै पक्षका केही सैनिक जवान घाइते भएका समेत बताइएको छ। चीन सीमावर्ती क्षेत्रमा बसाइसराई गराएर गाउँ बनाइरहेको र सडक समेत निर्माण गरिरहेको भारतीय दाबी छ।

    चिनियाँ पक्षले सोचविचार गरेर भारतीय सैनिकमा आक्रमण गर्न ३०० सैनिक परिचालन गरेको भारतीय मिडियाको दाबी छ।

    भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनाबारे छलफल गर्न आकस्मिक बैठक बोलाएका छन्। बैठकमा विदेशमन्त्री एस जयशंकरसहित तीनै सेनाका प्रमुखहरू सहभागी हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।