जटिल रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत एक लाख उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय - Chaitanya News
  • 2026-07-16
  • 18:46:36
  • बिहिबार,आषाढ ३२, २०८३
  • जटिल रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत एक लाख उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय

    जटिल रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत एक लाख उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको निर्णय

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा कोषमार्फत थप एक लाख उपलब्ध गराउने भएको छ।

    स्वास्थ्य बीमा कोषलाई थप प्रभावकारी बनाउन नीतिगत सुधार र व्यवस्थाका लागि नागरिकले थप सेवा पाउने गरी व्यवस्था गर्न लागेको स्वास्थ्यमन्त्री प्रदीप पौडेलले भताए ।

    क्यान्सर, मुटु रोग, मिर्गौला रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया, पार्किन्सोनिज्म र अल्जाइमरका बिरामीले थप एक लाख रुपैयाँ उपचार सुविधा प्राप्त गर्नेछन्।

    स्वास्थ्य बीमा नियमावलीमा भएको व्यवस्था लागु गराउनका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका हुन्। मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ।

    स्वास्थ्य बीमा नियमावली २०७५ को नियम १७ को उपनियम अनुसार कडा रोग लागेका व्यक्तिलाई थप एक लाख रुपैयाँ दिने व्यवस्थालाई कार्यान्वयनमा ल्याउन बोर्डलाई निर्देशन दिएका छन्।

    जटिल प्रकृतिका रोग लागेका व्यक्त्तिले बीमा गरेमा दुइ लाखसम्मको सेवा पाउनेछन्। विपन्न कार्यत्रम अन्तगत थप एक लाख पाउने कार्यत्रम यथावत नै रहनेछ।

    मन्त्रालयको निर्देशन पछि स्वास्थ्य बीमा बोर्डले आगामी बैठकमा यो विषय निर्णयार्थ प्रस्तुत गर्ने तयारीमा जुटेको छ।

    मन्त्री पौडेलले स्वास्थ्य बीमामा आकर्षण बढाउन तथा दिगोपनाका आधारमा बीमा थैली लागु गराउन समेत तयारी गरेको सचिवालयले जनाएको छ।

    तर, यस्ता थैलीहरू बनाउँदा बीमा कोष दुरुपयोग हुन नदिन सजगताका लागि समेत मन्त्रालयले स्वास्थ्य बीमा कोषलाई निर्देशन जारी गरेको छ।

    यसका लागि मन्त्रालयले ‘स्वास्थ्य बीमा बोर्डलाई स्वास्थ्य बीमाका सुविधा थैलीहरू निर्धारण गर्दा रोगको भार नागरिकको स्वास्थ्य आवश्यकता, लागत प्रभावकारीता र वित्तिय दिगोपनाको आधारमा निर्धारण गरी बीमा कोषको दुरुपयोग हुन नदिनेतर्फ ध्यान दिन’ भनेको छ।