काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरणलाई व्यवस्थित पार्न तयार ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक र हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक २०८१’ माथि सैद्धान्तिक छलफल सुरु भएको छ।
प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा विधेयकबारे छलफल सुरु गरिएको हो।
सैद्धान्तिक छलफलका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले संसदमा यो विधेयकप्रति व्यापक चासो देखिएको बताएका छन्।
उनका अनुसार विधेयकमा आठ प्रमुख सूचक समावेश छन्। कर्मचारीहरूको असन्तुष्टिपछि ट्रेड युनियनहरूसँग छलफल गरी विधेयकमा आवश्यक संशोधन मार्फत अघि बढ्ने सहमति पनि भइसकेको जानकारी मन्त्री पाण्डेले दिए।
छलफल क्रममा विज्ञ तथा संशोधनकर्ताका धारणा समेटिने विश्वास उनले व्यक्त गरे । हवाई नीति र छाता ऐन अन्तिम चरणमा रहेको जानकारी दिँदै ती विषय पनि छिट्टै अगाडि बढाइने उनको भनाइ छ।