काठमाडौँ– एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा सिंगापुरले नेपाललाई जितको लागि १ सय ३९ रनको लक्ष्य दिएको छ।
मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको सिंगापुरले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनायो। सिंगापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान दिए।
सिंगापुरलाई एक सय ३८ रनमा समेट्ने क्रममा नेपालका कप्तान विपिन शर्माले चार विकेट लिए। त्यसैगरी सचिन भट्टले तीन तथा शुभम खनाल र अभय यादवले समान एक–एक विकेट लिए।
एसियाली क्रिकेट परिषद् (एसिसी)को वार्षिक कार्यतालिकाअनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता रहेको छ। प्रतियोगितामा नेपाल समूह ‘ए’मा रहेको छ। नेपालको समूहमा सिंगापुर, इण्डोनेसिया, भुटान र जापान छन्। त्यस्तै समूह ‘बी’मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन्। नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ।