काठमाडौँ– स्कटल्याण्डमा जारी रहेको त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग भिड्ने भएको छ । खेल बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ। आज नेपाल र स्कटल्याण्ड पहिलो पटक खेल्न लागेका हुन्।
सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो। नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन।
यसअघि शृङ्खलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो। आइतबार भएको पहिलो खेलमा स्कटल्याण्डले नेदरल्याण्ड्सलाई ३९ रनले हराएको थियो।
२० जुनसम्म हुने यो त्रिकोणात्मक सिरिजमा बुधबार स्कटल्याण्ड र नेदरल्याण्डस, बिहिबार नेपाल र नेदरल्याण्डस तथा शुक्रबार नेपाल र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ।