लोकसेवा तयारी गरेर निजामति सेवामा प्रवेश गर्ने सबैको चाहाना हुन्छ । पछिल्लो समय युवाहरुमा लोकसेवा आयोग प्रतिको भरोसा, विश्वासा बढिरहेको छ । लोकसेवामा निष्पक्ष प्रतिस्पर्धा हुने भएकाले होला दूर दराजमा रहेका युवाहरुको समेत एकमात्रै रोजाई लोकसेवा बनेको छ । सरकारी जागिर खाने चाहानालाई साकार पार्न हजारौं परीक्षार्थीहरु परीक्षामा सामेल हुन्छन् । तर, केही मात्रै सफल हुन्छन् । असफल हुने केही पीरक्षार्थीहरुले यो कठिन झमेलामा फस्न चाहादैनन् तर, कुनै असफल परीक्षार्थीहरु एक र अनेकौं पटकको असफलताबाट आत्तिँदैनन् र पढीरहन्छन्, परीक्षामा सामेल भइरहन्छन् । अन्ततः सफलता हासील गरिछाड्छन् । त्यसो भए लोकसेवा परीक्षामा सफल हुनको रहस्य के छ त ? यिनै विषयमा केन्द्रित रहेर चैतन्य खबरका लागि निर्मला कडायतले उपसचिव उदय लिम्बुसँग गरेको संवादको सम्पादित अंश:
१. तपाईं निजामती सेवाको जिम्मेवार तह उपसचिवमा नाम निकाल्न सफल हुनु भएको छ । यो सफलतालाई कसरी लिनुहुन्छ ?
निजामती सेवाको नियमित प्रक्रिया नै हो, सरुवा हुने, बढुवा हुने, माथिल्लो तहमा नाम निकाल्ने । मानवीय स्वभाव हो, खुसी हुने कुरा भई नै हाल्यो । त्यसका साथ साथै जिम्मेवारीवोध पनि अलि थपिएको महशुस भएको छ ।
२. तपाईं लोकसेवाका विभिन्न तह पार गर्दै उपसचिव भइसक्नु भयो, लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थिलाई सफलता प्राप्तिका लागि के गर्नुपर्छ भन्ने सन्देश दिनुहुन्छ र कसरी तयारी गर्दा लोकसेवामा नाम निकाल्न सकिन्छ होला ?
नियमित रुपमा पढ्नु नै पर्छ त्यसमा पनि सरकारीरसार्वजनिक कामसँग Relate गरेर । सम्बन्धित विषयबस्तुसँग सम्बन्धित बिज्ञका लेखहरु पढ्ने, समसामयिक विषयसँग update हुने, सरकारी प्रतिवेदनहरु पढ्ने गर्नुपर्छ। त्यस्तै व्यक्तिगत र कार्यालय समयलाई व्यवस्थापन गर्नु पनि पर्छ ।
३.पढाईको सुरुवात कसरी गर्दा सहज हुन्छ ?
मैले त पाठ्यक्रमसँग सम्बन्धित बजारमा पाउने किताबबाट नै पढाइको सुरुवात गरेको हो। जसले सैद्धान्तिक विषयमा स्पष्टता दियो। त्यस पछि institute हरुमा पनि गएको थिए। उपसचिव, शाखा अधिकृत, सहसचिव जुनसुकै पदमा आवेदन दिन्छौ ति सँग सम्बन्धित बजारमा पाईने पाठ्यपुस्तकहरु, विभिन्न मन्त्रालयका वार्षिक प्रतिवेदनहरु, लेख रचनाहरु, पत्रपत्रिकाहरु, राष्ट्रिय अभ्यासहरु आदि समिक्षाआत्मक ढंङगले पढ्नु पर्ने हुन्छ।
४. पुस्तकको छनोट कसरी गर्ने ?
अगाडि नाम निकाल्ने सररमेमहरुसँग सोधेर, बजारमा भएको चर्चाबाट नै छनौट गर्न सकिन्छ। सँगै तयारी गर्ने साथीहरुले पनि किताब राम्रो छ भनेर भनि रहेको हुन्छन् त्यस्ता किताब मागेर हेरेर आफुले पनि किन्न सकिन्छ।
५.दिमागमा बस्ने गरि पढ्नका लागि उपयुक्त समय कुन हुन सक्छ ?
मेरो त यही समय भन्ने हुदैन । समय मिलेको बेला र पढ्न मन लागेको बेला पढ्थे। आफूले सानैदेखि कुन समयमा पढ्ने गरेको छ र कुन समयमा पढ्दा सहज महशुस हुन्छ शायद त्यही समय नै उसको लागि उत्तम समय होला।
६. पढेको कुरा कसरी सम्झने ?
सबैको आफ्नौ तरिका हुन्छ। म चाँही धेरै जसो कार्यालयको आफूले गरेको काम वा सरकारी कार्यालयलाई Relate गरेर नै सम्झिने प्रयास गर्थे। पढ्दाखेरि पढेको विषय वस्तुमा रुचि लगाएर पढ्नु पर्छ ।
७. अरु भन्दा भिन्न र उत्तर लेखनी राम्रो कसरी गर्ने ?
आफूलाई राम्रो लागेको विज्ञको लेख रचनाबाट लेखनको शैली लिएर आफ्नो लेखन शेैलीलाई पनि भिन्न र राम्रो बनाउन सकिन्छ।
८.लिखित परीक्षामा कस्तो लेखनशैली अपनाउँदा राम्रो नम्बर प्राप्त गर्न सकिन्छ ?
सबैको आ–आफ्नै लेखन शैली हुन्छ त्यसलाई नै प्रभावकारी बनाएर आफ्नै मौलिक शैली बनाउनु पर्छ। सकेसम्म थोरैमा धेरै उत्तर समेटीने र भन्न सकिने सामान्य भाषा र छोटो छोटो वाक्यको उपयोग गर्नु नै राम्रो हुन्छ ।
९.बुँदागत वा विश्लेषणात्मक कुन उत्तर राम्रो मानिन्छ ?
धेरै त बुँदागत रुपमा नै लेख्दा राम्रो होला तर पनि कतिपय खण्डहरु विश्लेषणात्मक लेख्नु नै पर्ने हुन्छ।
१०.उत्तरको खण्ड विभाजन कसरी गर्ने ?
उत्तरको खण्ड त प्रश्नबाट नै बनाउने हो। त्यही नै हुन्छ।
११. समय व्यवस्थापन कसरी गर्न सकिन्छ ?
समय व्यवस्थापनको लागि विभाजित समयलाई ध्यान दिनु पर्छ। विभाजित समयलाई ठ्याक्कै वा २/३ मिनेट तलमाथिलाई स्ट्रिक्ली फलो गर्नु पर्छ। त्यसको लागि समय मिलेसम्म mock exam हरु दिनु पर्छ।
१२. कतिपयलाई आफ्नो अक्षर राम्रो नभएकोमा तनाव हुन्छ भने, कतिपयले राम्रो अक्षर भएकै कारण परिक्षामा राम्रो नम्बर पाउने विश्वास पनि गरिरहेका हुन्छन्, अक्षर र शुद्धाशुद्धिले नतिजामा फरक पार्छ कि पार्दैन ?
अक्षर राम्रो हुनै पर्छ भन्ने त छैन होला, तर बुझिने हुनु पर्यो । शायद शुद्धाशुद्धीले चाँही थोरै भए पनि फरक पार्छ नै होला, लोक सेवा आयोगले उत्तरपुस्तिका परीक्षणका आधारमा पनि शुद्धाशुद्धी तथा सफाईलाई ५ ५ अङ्कभार दिएको देखिन्छ।
१३.अन्त्यमा लोकसेवा तयारी गरिरहनु भएका परीक्षार्थीलाई के भन्न चाहानु हुन्छ ?
समय आउँछ सफलता त मिल्छ नै। निरन्तर पढ्नु पढ्नुपर्छ । धेरै त आफ्नै कार्यालयको काम गरेर नै जानिन्छ। जुन व्यवहारिक हुन्छ र उत्तर लेख्दा मौलिक पनि हुन्छ। हामीले प्रक्रियामा ध्यान केन्द्रित गर्नुपर्छ नतिजामा ध्यान दिनुहुँदैन् । प्रक्रिया सहि भयो भने नतिजा पनि सहि हुन्छ । एक दुई पटकको असफलतामा निराश भएर हार मान्नु हुँदैन। असफलताले मानिसलाई परिपक्व बनाउँछ। तयारी गरिरहनु भएका सबैलाई सुभकामना।