काठमाडौँ– आज (शुक्रबार) दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्ने तय भएको छ । बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्दैछ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरू पढेर सुनाउने कार्यसूची रहेको छ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक, २०८२ सम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ।
यसैगरी, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२–०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गर्ने प्रस्ताव राख्नेछन्।
यसैबीच, भिजिट भिसा प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहितका विपक्षी दलले प्रतिनिधि सभा अवरुद्ध गर्दै आएका छन्। छानबिन समिति गठन वा अन्य विषयमा सहमति जुटाउन छलफल जारी छ, तर ठोस निष्कर्ष निस्किएको छैन।