सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने स्वास्थ्य मन्त्रालयको तयारी - Chaitanya News
  • 2026-05-03
  • 10:53:43
  • आइतबार,बैशाख २०, २०८३
  • सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

    सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गर्न आन्तरिक तयारी थालेको छ।

    स्वास्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्था अनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागू गराउन स्वास्थ्य मन्त्री प्रदीप पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन्।

    यसैगरी, प्रदेश सरकार मातहतका निकाय, विभाग तथा कार्यालयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत पहल गर्ने निर्णय मन्त्री पौडेलले गरेका छन्। सबै स्थानीय तहहरूमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पहल गर्ने निर्णय भइसकेको छ।

    मन्त्रालयले सरकारी तलब खाने र संगठित क्षेत्रका कर्मचारीलाई समेत स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने योजना बनाएको छ। यसो भएमा स्वास्थ्य बीमा कोषमा प्रिमियम पर्याप्त हुने र कार्यक्रम दिगो बन्ने मन्त्रालयले गठन गरेको स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदनमा छ।

    संगठित क्षेत्र बीमामा जोडिन सक्यो भने संगठित क्षेत्रको योगदानबाट झन्डै ६० अर्ब रुपैयाँ बीमाले आम्दानी गर्ने मन्त्रालयको अनुमान छ। हाल बीमालाई वार्षिक २४ अर्ब हाराहारीमा रकम आवश्यक पर्ने देखिएको छ।

    ‘२४ अर्ब चाहिने बीमाले ६० अर्ब आम्दानी गर्न सक्यो भने बीमा व्यवस्थित हुन्छ। औपचारिक र अनौपचारिक क्षेत्रलाई यो वर्षदेखि बीमा बोर्डमा जोड्ने तयारी अगाडि बढ्यो,’ मन्त्री पौडेलले भने।