अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी - Chaitanya News
  • 2026-05-03
  • 10:53:42
  • आइतबार,बैशाख २०, २०८३
  • अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी

    अलपत्र ५७ आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने स्वास्थ्य मन्त्रालयको तयारी

    काठमाडौं– सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनमा आउने भएका छन् । स्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी अघि बढाएको छ।

    निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ। नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ।

    मापदण्ड समेत अभाव देखिएकाले पाँच, १० तथा १५ शैय्या क्षमताका स्थानीय तहमा निर्मित अस्पताल साउनबाट सञ्चालन आउने स्वास्थ्यमन्त्री प्रदिप पौडेलले जानकारी दिए। हालै मन्त्रालयले आधारभूत अस्पताल सञ्चालन मापदण्ड २०८२ निर्माण गरिसकेको छ।

    अब मापदण्डका आधारमा त्यस्ता अस्पताललाई संघ सरकारले गर्ने जनशक्ति, औजार उपकरण, औषधी तथा रिएजेन्टस लगायतका अत्यावश्यक संशाधनको व्यवस्थापन गर्ने मन्त्री पौडेलले बताए।

    यसका लागि मन्त्री पौडेलले मन्त्रालयका नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका छन् । कार्यदलले संघ सरकारले गर्ने सहयोगबारे कार्ययोजना बनाउनुका साथै ती अस्पतालमा प्रदेश तथा स्थानीय तहको भूमिकाबारे समेत प्रष्टता ल्याउन सघाउनेछ ।

    मन्त्रालयले यस्ता अस्पतालको निर्माण तथा सञ्चालनका लागि आगामी वर्षका लागि करिब एक अर्ब बजेट व्यवस्थापन गरेकाले अब आधारभूत अस्पतालहरु सञ्चालनमा सहजता आउने मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।