काठमाडौँ– आज (बिहीबार) काठमाडौंको टुँडिखेलमा १८औँ गणतन्त्र दिवस मनाइएको छ। विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।
सोही दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिएको हो। सोही दिवसको अवसरमा बिहीबार सैनिक मञ्च टुँडिखेलभित्र भीभीआईपीको सहभागितामा गणतन्त्र दिवस मनाइयो।
तर, यस्तो राष्ट्रिय पर्व हेर्न सर्वसाधारणले पहुँच पाउँदैनन्। जनताले ल्याएको गणतन्त्र भनेर हरेक पटक नेताहरूको भाषणमा सुनिने गरेतापनि टुँडिखेलको बार बाहिरबाट पनि सर्वसाधारणलाई भीभीआइपीको गणतन्त्र हेर्न कडाइ गरिन्छ। तैपनि प्रहरीलाई छल्दै सर्वसाधारणले बारबाट चिह्याउँदै भित्रको गणतन्त्र दिवसको तामझाम हेरिरहेको देखिन्थ्यो।