काठमाडौं– सरकारले नेपाल प्रहरीमा कायम ३० वर्षे सेवा अवधि हटाउने तयारी गरेको छ। यस्तो भएमा हालका आईजीपी धीरजप्रताप सिंहको कार्यकाल थप एक वर्ष लम्बिनेछ।
उमेर हद वा पदावधि कायम गर्न नियमावली संशोधन गर्न लागिएको हो।
यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ। उच्च स्रोतका अनुसार गृहले यसबारे टिप्पणी उठाइसकेको छ।
३० वर्षे सेवा अवधि हटाउन नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाउने तयारी छ।
प्रहरीभित्रै एक समूह भने तत्काल ३० वर्षे सेवाअवधि हट्न नहुने पक्षमा छ। त्यसमा हालका आईजीपी सिंहका ब्याचभन्दा जुनियर डीआईजीको समुह सक्रिय छ।
हाल प्रहरी ऐन नबनेकाले प्रहरी नियमावली संशोधन हुने र सेवा अवधिको ठाउँमा ५८ वर्षको उमेर हद कायम गरिने तयारी भएको गृहका एक अधिकारीले बताए।
प्रहरीमा लामो समयदेखि नै ३० वर्षे सेवाअवधी हट्नुपर्ने माग उठ्दै आएको छ । हाल प्रहरीमा उमेर हद, पदावधि र ३० वर्षे सेवावधि पूरा भएर अवकाश पाउँछन्।
प्रहरीमा ३० वर्षे सेवा अवधि वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा गृह मन्त्री भएकै बेला २०४९ मा लागु भएको थियो। उनले मोतीलाल बोहरालाई आईजीपी बनाउन प्रहरी नियमावली फेरबदल गरेर रत्नशमशेर जबरालाई हटाउन यो व्यवस्था लागु गरेका थिए।
त्यही समयबाट प्रहरी संगठन ‘भद्रगोल’ भएको संगठनका सबैजसो पूर्व र वहालबाला अधिकारीहरु स्वीकार गर्छन्।
देउवा आफैँले लागु गराएको ३० वर्षे सेवा अवधि हट्न अर्थ मन्त्रालयको सहमति चाहिन्छ। अर्थले सहमति दिएमात्रै मन्त्रिपरिषदबाट निर्णय हुने एक अधिकारी बताउँछन्।