काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिएका छन्।
आज (सोमबार) काँग्रेस शिक्षा विभागले आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै उनले शिक्षा नै महत्त्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागिपर्ने प्रतिबद्धतासमेत जनाए।
सभापति देउवाले सबै आमाबाबुको इच्छा छोरा छोरीलाई राम्रो शिक्षा दिने भएकाले त्यो पूरा गर्ने गरी व्यवस्था गरिनुपर्ने धारणा राखे। उनले शिक्षा सभ्यता पनि भएकाले यसले गाउँदेखि सहरसम्मका मानिसलाई शिक्षित भएर अघि बढाउने पनि सभापति देउवाको भनाइ थियो।
विभाग प्रमुख नैनसिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता औँल्याए।