त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक–कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेशको पूर्णपाठ सार्वजनिक - Chaitanya News
  • 2026-07-17
  • 12:03:43
  • शुक्रबार,साउन ०१, २०८३
  • त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक–कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेशको पूर्णपाठ सार्वजनिक

    त्रिविमा खुला प्रतिस्पर्धाबाट प्राध्यापक–कर्मचारी नियुक्त गर्न सर्वोच्चको परमादेशको पूर्णपाठ सार्वजनिक

    काठमाडौँ– २०८१ फागुन ६ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नहकुल सुवेदीको इजलासले त्रिविमा खुला प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक, कर्मचारीको छनोट र नियुक्ति गर्ने व्यवस्था गर्न परमादेश दिएको थियो ।उक्त परमादेशको हालै पूर्णपाठ सार्वजनिक भएको छ।

    त्रिवि सभाले २०७८ मंसिर १४ मा त्रिभुवन विश्वविद्यालय शिक्षक कर्मचारी सेवा सम्बन्धी नियम, २०५० को नियम ६ को पदपूर्ति गर्ने तरिका सम्बन्धी शीर्षकअन्तर्गत उपनियम ९१० मा संशोधन गरेको थियो । उक्त संशोधनले शिक्षकतर्फ उपप्राध्यापक पदमा तथा कर्मचारीतर्फ सहायक स्तर प्रथम र द्वितीय स्तरका पदमा अस्थायी वा करार सेवामा १० वर्ष काम गरेका शिक्षक वा कर्मचारीले मात्र प्रतिस्पर्धा गर्न पाउने गरी विशेष आन्तरिक खुला प्रतिस्पर्धा गर्न सकिने व्यवस्था राखेको थियो।

    विज्ञापन बमोजिमको परीक्षा स्थगित तथा नियममा गरेको उक्त संशोधनको निर्णयबाट आफू र आफूहरू जस्तै योग्यता पुगेका अन्य व्यक्तिहरूको खुला प्रतिस्पर्धामार्फत त्रिभुवन विश्वविद्यालय सेवामा प्रवेश गर्न पाउने हक हनन हुन पुगेको भनी मनिता खत्रीलगायतले रिट दायर गरेका थिए।

    रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले उक्त संशोधनले विश्वविद्यालयमा रहेका अस्थायी वा करार सेवाका शिक्षक कर्मचारीले मात्र प्रतिस्पर्धा गर्न पाउने विशेष व्यवस्था गरेको देखिएकोमा सामान्यतः खुला प्रतिस्पर्धामा उमेर र शैक्षिक योग्यताजस्ता न्यूनतम पूर्वावस्थाबाहेक अन्य सर्त–बन्देज स्वीकार्य नहुने सर्वोच्चको ठहर गरेको हो। उक्त योग्यता पुग्ने जोकोही व्यक्ति प्रतिस्पर्धामा सहभागी हुन पाउनु उसको संविधानप्रदत्त हक भएको आदेशमा भनिएको छ।

    समान योग्यता भएका केही प्रतिस्पर्धामा सामेल हुन पाउने र केही हुनै नपाउने गरी बनाइएको कानुनलाई स्वेच्छाचारी र समानताको हक प्रतिकूल मान्नुपर्ने सर्वोच्चको ठहर छ।

    साथै सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयमा आन्तरिक प्रतिस्पर्धाबाट प्राध्यापक कर्मचारी भर्ना गर्न रोक लगाएको छ।