काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भएको मानव तस्करीबारे अनुसन्धान गरिरहेका बेला गृह मन्त्रालयले अध्यागमनका ६ जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।
विमानस्थल अध्यागमन कार्यालयमा खटिएका ६ जना नायब सुब्बाहरूलाई मन्त्रालयमा तानिएको स्रोतले जानकारी दिएको छ। स्रोतका अनुसार, भिजिट भिसा प्रकरणबारे मन्त्रालयबाट समेत छानबिन भइरहेकाले उनीहरूलाई जिम्मेवारीबाट हटाइएको हो।
आयोगले विमानस्थल अध्यागमनमा आयोगले दुई दिनअघि छापा मारेर महत्वपूर्ण कागजात र कम्प्युटरहरू बरामद गरेको थियो भने अध्यागमन प्रमुख सहसचिव तीर्थराज भट्टराई समेत पक्राउ परेका थिए। दिनभर आयोगमा केरकार गरेर साँझ उनलाई भोलिपल्ट उपस्थित हुने गरी छाडिएको थियो।
आयोगले एक महिनाअघिबाटै यो मामिलामा अनुसन्धान गरिरहेको थियो । छानबिन भइरहेको थाहा पाएर सहसचिव भट्टराईले एक दिनअघि सरुवा मागेका थिए।