बुटवल– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले आफ्नो पार्टी प्रतिपक्षमा बस्ने बताएका छन्। शुक्रबार बुटवल कालिका क्याम्पसको नवौं वार्षिकोत्सवलाई सम्बोधनपछि पत्रकारसँग कुरा गर्दै उनले मंसिर ४ को चुनावको जनादेश अनुसार एमाले प्रतिपक्षमा बस्ने बताएका हुन्।
माओवादी केन्द्र र अरु दलसँग मिलेर सरकारमा जाने सम्भावनाबारे पत्रकारको प्रश्नमा उपाध्यक्ष पौडेलले त्यस्तो खेलमा एमाले नलाग्ने बताए। पौडेलले भने, ‘एमाले केही सिटले दोस्रो पार्टी बनेको छ, यो जनादेशको सम्मान गर्दै सशक्त प्रतिपक्षको भूमिका निभाउँछौं।’
नेता पौडेलले सरकार बनाउनेबारे एमालेले कसैसँग छलफल नगरेको दोहोर्याए। चुनावको परिणामबारे पार्टीले छिट्टै समीक्षा गर्ने पौडेलले बताए।
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले एमाले प्रतिपक्षमा रहे पनि आफ्नो सरकारको पालामा अघि बढाइएका विकास आयोजनाहरु पूरा गर्न भूमिका खेल्ने बताए।
उनले पूर्वाधार नबन्दै अस्थायी मुकाम बुटवलबाट प्रदेशका मन्त्रालय लगायत संरचनाहरु दाङमा लैजाने कार्य गलत भएको टिप्पणी पनि गरे।