काठमाडौं – कांग्रेसमा संसदीय दलको नेताका लागि संस्थापन र इतरपक्षमा कसलाई बनाउने भन्ने टुंगो लागिसकेको छैन । संस्थापन पक्षमा सभापति शेरबहादुर देउवाको मात्र दाबी छ । तर, इतरपक्षमा भने डा। शेखर कोइराला र महामन्त्री गगन थापामध्ये को बन्ने भन्ने अझै टुंगो छैन ।
इतरसमूहबाट प्रधानमन्त्रीका आकांक्षीद्वय डा। कोइराला र महामन्त्री थापाले निर्वाचित सांसदहरूसँग छलफल सुरु गरिसकेका छन् । दुईमध्ये कसलाई संसदीय दलमा उठाउने टुंगो लागिनसके पनि दुवै नेताले छलफललाई तीव्र पारेका छन् ।कांग्रेस सांसद सञ्जय गौतमले इतरसमूहबाट एकजनाले संसदीय दलमा चुनौती दिने निश्चित भए पनि अहिले नै टुंगो लागिनसकेको बताए । उनका अनुसार दुवै नेताले सांसदहरूसँग व्यक्तिगत रूपमा भेटघाट गरिरहेका छन् ।
‘दुईमध्ये एक नेता संसदीय दलमा लड्ने पक्का हो । उहाँहरू पनि छलफलमा हुनुहुन्छ । सबै साथीहरू काठमाडौं आइसक्नुभएको छैन । छिट्टै बैठक बसेर यो विषयको टुंगो लाग्छ,’ गौतमले भने ।
सांसदहरूसँग छलफलपछि दुवै नेताले निर्णय लिनेछन् । समानुपातिक सूचीमा क–कसलाई पठाउने भन्ने टुंगिएपछि मात्रै कोइराला र थापाले औपचारिक रूपमा दलको नेताका लागि अगाडि बढ्ने मनस्थिति बनाएको नेताहरूले बताएका छन् । दुई नेताबीच संवादसमेत जारी छ ।
तर, कोइरालाले आफ्नो निर्णयको विषयमा मुख खोलेका छैनन् । महामन्त्री थापा भने ‘ब्याक’ नहुने गरी तयारीमा लागेका छन् । प्रत्यक्षतर्फको पूर्ण परिणाम र समानुपातिकको सिट संख्या टुंगो लागेपछि निर्वाचित र सम्भावित समानुपातिक सांसदहरू काठमाडौंकेन्द्रित बनेका छन् ।
यतासंस्थापन समूहबाट सभापति देउवाले संसदीय दलको नेताका लागि दाबी गर्ने पक्का भएको छ । पूर्वमहामन्त्री डा। शशांक कोइरालासमेत देउवाका लागि सकारात्मक छन् । नेता प्रकाशमान सिंहले इच्छा देखाए पनि सशक्त रूपमा दाबी गरेका छैनन् । स्रोतका अनुसार देउवा संसदीय दलको नेता उठेको अवस्थामा सिंहले अघि सर्ने मनसाय राखेका छैनन् । उनले यसका लागि विशेष भेटघाटसमेत गरेका छैनन् । तर, अवस्था आफ्नो पक्षमा पार्न देउवानिकट नेताहरूले भेटघाट तीव्र बनाएका छन् ।
बिहीबार देउवानिकट नेता एनपी साउदले सिंहसँग भेटघाट गरेका थिए । नेता रामचन्द्र पौडेल पनि पछिल्लो समय मौन छन् । देउवाले आफ्नो पक्षमा माहोल बनाउन उपसभापति पूर्णबहादुर खड्का, प्रवक्ता डा। प्रकाशशरण महत, नेता एनपी साउदलगायतका नेताहरूलाई सक्रिय पारेका छन् । उनले संसदीय दलको नेता र प्रधानमन्त्रीका लागि समानान्तर रूपमा पार्टीभित्र र पार्टीबाहिर छलफल चलाएका छन् ।