असई कुन्जाङ छोपेल शेर्पाले गरिन सगरमाथाको आरोहण - Chaitanya News
  • 2026-11-18
  • 03:02:32
  • मंगलबार,मंसिर ०२, २०८३
  • असई कुन्जाङ छोपेल शेर्पाले गरिन सगरमाथाको आरोहण

    असई कुन्जाङ छोपेल शेर्पाले गरिन सगरमाथाको आरोहण

    काठमाडौं– नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाले सगरमाथाको आरोहण गरेकी छिन्।आज सोमबार बिहान ८ः५६ बजे उनले विश्‍वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी हुन।

    आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराएकी थिइन्।

    प्रहरी महानिरीक्षक दिपक थापाबाट गत २५ चैतमा आवश्यक निर्देशन तथा शुभकामनासहित उक्त झन्डा हस्तान्तरण गरी असई शेर्पासहितको आरोहण दल २८ चैतमा काठमाडौंबाट प्रस्थान गरेको थियो।

    यस अघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले २ जेठ २०८० मा सगरमाथा आरोहण गरेका थिए।

    नेपाल प्रहरीले विगतमा सगरमाथाको सरसफाई अभियान तथा विभिन्न हिमालहरू आरोहण सफलतापूर्वक गरेको सन्दर्भमा यस्ता प्रेरणादायी एवम् साहसिक कार्यले भविष्यमा निरन्तरता पाउने विश्‍वास नेपाल प्रहरीले लिएको छ।