एक महिने शिक्षक आन्दोलनपछि आज खुले सामुदायिक विद्यालय, सुरु भयो विद्यार्थी भर्ना - Chaitanya News
  • 2025-05-15
  • 15:38:28
  • बिहिबार,जेठ ०२, २०८२
  • एक महिने शिक्षक आन्दोलनपछि आज खुले सामुदायिक विद्यालय, सुरु भयो विद्यार्थी भर्ना

    एक महिने शिक्षक आन्दोलनपछि आज खुले सामुदायिक विद्यालय, सुरु भयो विद्यार्थी भर्ना

    काठमाडौं– एक महिने शिक्षक आन्दोलनपछि आज (शुक्रबार)देखि विद्यालय खुलेका छन्। गत (बुधबार) सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएपछि आजदेखि विद्यालय खुलेका हुन्।

    हिजो (बिहीबार) सार्वजनिक बिदा भएकाले आजदेखि विद्यालयमा भर्ना अभियान सुरु गरिएको विद्यालयका काठमाडौंका सरकारी विद्यालयका प्रधानाध्यापकहरूले बताएका छन्। ‘नयाँ विद्यार्थी भर्नाको लागि आएका छन्। आज मात्र ८० जना नयाँ विद्यार्थी भर्ना भएका छन्,’ पद्मकन्या माध्यामिक विद्यालयकी प्रधानाध्यापक रिता तिवारीले भनिन्, ‘आज बुक फ्रि–फ्राइडे हो। विद्यार्थीहरू आएर अतिरिक्त गतिविधिमा सहभागी भएका छन्।

    पद्मकन्यामा १० कक्षासम्म ५ सय विद्यार्थी अध्ययनरत छन्।

    जनविकास माध्यामिक विद्यालयका प्रधानाध्यापक अनिल झाले पनि विद्यालय सञ्चालन भएको बताए। ‘आजदेखि विद्यालय खुलेको छ। विद्यार्थी भर्नाका लागि आइरहेका छन्,’ झाले भने। उनका अनुसार अघिल्लो वर्ष करिब साढे ४ सय विद्यार्थी थिए।

    ज्ञानोदय माध्यामिक विद्यालयकी प्रधानाध्यापक विष्णु रिमाल पनि भर्नाका लागि नयाँ विद्यार्थी आइरहेको बताउँछिन्। ‘भर्नाको लागि विद्यार्थी आइरहेका छन्,’ उनले भनिन्। गत वर्ष ज्ञानोदयमा ४ हजार ७ सय विद्यार्थी थिए।

    शिक्षा, तथा मानव स्रोत विकास केन्द्रका अनुसार देशैभर विद्यार्थी भर्ना अभियान सुरु भएको छ। सामुदायिक विद्यालयमा ढिला गरी भर्ना सुरु भएकाले अघिल्लो वर्षको तुलनामा यो वर्ष नयाँ विद्यार्थीको भर्नामा प्रभावित भएको छ।

    १ वैशाखबाट नयाँ शैक्षिकसत्र सुरु भएको थियो तर आन्दोलनका कारण १९ दिनपछि मात्र विद्यार्थी भर्ना अभियान सुरु भएको छ।

    १७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएपछि शिक्षकहरु काठमाडौंबाट फर्किएका छन्।