आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाको तयारी गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय - Chaitanya News
  • 2026-07-05
  • 18:11:46
  • आइतबार,आषाढ २१, २०८३
  • आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाको तयारी गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

    आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाको तयारी गर्दै लुम्बिनीको सामाजिक विकास मन्त्रालय

    बुटवल– लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालय आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाको तयारीमा जुटेको छ।

    सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले पूर्व सामाजिक विकास मन्त्रीहरू तथा सरोकारवालाहरूसँग छलफल गर्दै आगामी नीति निर्माण प्रक्रियालाई गुणस्तरीय र सर्वपक्षीय बनाउन पहल गरेका हुन्।

    मन्त्री तिमिल्सिनाले गुणस्तरीय तथा प्रविधिमा आधारित, सिपयुक्त जनशक्ति निर्माण गर्ने उद्देश्यसहित नीति तथा कार्यक्रम बनाउने तयारी भइरहेको जानकारी दिए। पूर्व मन्त्रीहरूको अनुभव र सुझावलाई समेटेर प्रभावकारी कार्यक्रम तर्जुमा गरिने उनको भनाइ छ।

    पूर्व सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले नीतिहरू व्यवहारमा आधारित र विद्यार्थीको आवश्यकतामा केन्द्रित हुनुपर्ने सुझाव दिए।

    उनले विद्यार्थीमा सकारात्मक चिन्तन, सीप, र कर्मप्रति विश्वास जगाउने खालका कार्यक्रम आउनु पर्ने बताए।

    पूर्व मन्त्री चन्द्रकेश गुप्ताले प्रदेशको भूगोललाई ध्यानमा राखेर नीति तथा कार्यक्रम बनाउनुपर्नेमा जोड दिए। उनले १०० जना भन्दा कम विद्यार्थी भएका विद्यालयहरू गाभ्ने, तराई क्षेत्रमा साइकल वितरण गर्ने, र हिमाल तथा पहाडका क्षेत्रमा छात्रावास निर्माण गरेर अध्ययनको अनुकूल वातावरण सिर्जना गर्ने योजनाहरू कार्यान्वयनमा ल्याउनुपर्ने बताए।

    सामाजिक विकास मन्त्रालयले शिक्षा, विज्ञान तथा प्रविधि, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी विषयहरूलाई प्रमुख प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको जनाएको छ।

    लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपकुलपति प्राडा विनोद प्रसाद ढकालले उच्च शिक्षामा प्राविधक जनशक्ति उत्पादन गर्न रिसर्चमा लगानी बढाउने गरी नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए।