शिक्षकका माग सम्बोधनका लागि गगन र विश्वले देखाए सक्रियता , पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल - Chaitanya News
  • 2026-05-14
  • 05:57:36
  • बिहिबार,बैशाख ३१, २०८३
  • शिक्षकका माग सम्बोधनका लागि गगन र विश्वले देखाए सक्रियता , पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल

    शिक्षकका माग सम्बोधनका लागि गगन र विश्वले देखाए सक्रियता , पार्टी सभापतिपछि आन्दोलनका अगुवासँग छलफल

    काठमाडौं– काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधनका लागि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सक्रियता देखाएका छन्।

    यसैक्रममा हिजो सोमबार संयुक्त रुपमा पार्टी सभापति शेरबहादुर देउवासँग छलफल गरेका उनीहरुले सोही दिन साँझ शिक्षक आन्दोलनका अगुवाहरुसँग पनि सामूहिक छलफल गरेका थिए। आज संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा रहेका कांग्रेसका सांसदहरुसँग छलफल गर्ने योजना उनीहरुको छ।

    शिक्षक तथा कर्मचारीहरुले माग गर्दै आएको शिक्षा ऐन सम्बन्धी विधेयक हाल शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलमा छ।

    उनीहरुले शिक्षक तथा विद्यालय कर्मचारी मैत्री ऐन संसदबाट वा अध्यादेशबाट जारी नभएसम्म विद्यालय नफर्किने अडानसहित गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन्। उनीहरुको शैक्षिक हड्तालका कारण विद्यालय भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण, वार्षिक परीक्षाको नतिजा प्रकाशन लगायतका काम प्रभावित भएका छन्।

    सोमबार कांग्रेस महामन्त्रीद्वय थापा र शर्माले पार्टी सभापति देउवाको निवासमा पुगेर पनि शिक्षकका माग सम्बोधनका उपायबारे छलफल गरेका थिए। त्यसपछि शिक्षक आन्दोलनका अगुवाहरुसँग छलफल भएको थियो। पार्टी केन्द्रीय कार्यालयमा आयोजित छलफलमा शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी, महामन्त्री तुलाबहादुर थापा लगायत सहभागी थिए।

    करिब डेढ घण्टा चलेको छलफल सरकारले मन्त्रिपरिषदको निर्णयबाट गर्न सकिने निर्णय तत्काल गर्ने र शिक्षा ऐन जारी गर्नका लागि संसदीय समितिबाट छिटो विधेयक पास गरेर संसदमा पठाउने विषयमा केन्द्रित रहेको स्रोतले बतायो।

    ‘शिक्षक तथा कर्मचारीहरुका माग सम्बोधन गरी समस्या समाधान गर्ने त्यही तरिका हो। यो विषयमा नेपाली कांग्रेसले पहलकदमी गर्नुपर्छ भनेर छलफल भयो,’ कांग्रेसका एक नेताले अनलाइनखबरसँग भने, ‘यसबारे आज शिक्षा समितिमा सदस्य रहेका कांग्रेस सांसदहरुसँग पनि छलफल गर्ने कुरा छ।’