गेटा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु, क्याथ ल्याब सञ्चालनको तयारीमा - Chaitanya News
  • 2026-05-03
  • 15:01:00
  • आइतबार,बैशाख २०, २०८३
  • गेटा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु, क्याथ ल्याब सञ्चालनको तयारीमा

    गेटा अस्पतालमा मुटु रोग उपचार सेवा सुरु, क्याथ ल्याब सञ्चालनको तयारीमा

    धनगढी- सुदूरपश्चिम प्रदेशको प्रमुख सरकारी स्वास्थ्य संस्था गेटा अस्पतालले अबदेखि मुटु रोग (कार्डियोलोजी) सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। यो सेवाबाट अब सुदूरपश्चिमवासीले काठमाडौँ धाउनु नपर्ने गरी आफ्नै प्रदेशमै गुणस्तरीय मुटु उपचार सेवा पाउने आशा जागेको छ।

    गेटा अस्पतालमा हालै मुटु रोग विशेषज्ञ डाक्टर अजय भट्टले सेवा दिन थालेका छन्। अस्पतालका अनुसार डा. भट्ट यसअघि सहिद गंगालाल हृदय रोग केन्द्रमा कार्यरत थिए। उनलाई नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छात्रवृत्ति करार सेवाअन्तर्गत गेटा अस्पतालमा खटाएको हो।

    डा. भट्टले गत मङ्गलवारदेखि बाहिर बिरामी सेवा (ओपिडी) सुरु गरेका छन्। अस्पताल स्रोतका अनुसार हाल दैनिक झन्डै १० जना मुटु रोगका बिरामी अस्पतालमा जाँच गराउन आउने गरेका छन्। प्रारम्भिक सेवा सुरु भए पनि मुटु रोगका बिरामीको चाप विस्तारै बढ्न थालेको देखिएको छ।

    गेटा अस्पतालमा अहिले अत्याधुनिक इसिजी (ECG) र इकोकार्डियोग्राम (ECHO) जाँच सेवा उपलब्ध भइसकेको छ। यी उपकरणको सहयोगमा प्रारम्भिक तहमा मुटु रोगको विस्तृत परीक्षण सम्भव भएको डाक्टर भट्टको भनाइ छ।

    अस्पतालले अझै स्तरीय र आकस्मिक सेवा दिन ‘क्याथ ल्याब’ सञ्चालन गर्ने तयारी पनि अघि बढाएको छ। अस्पतालका निर्देशक डा. प्रमोद यादवले क्याथ ल्याबको पूर्वाधार निर्माण अन्तिम चरणमा रहेको र चाँडै सेवा सञ्चालनमा ल्याइने जानकारी दिए। “सुदूरपश्चिम प्रदेशमै पहिलोपटक क्याथ ल्याब सेवा सञ्चालन हुने तयारीमा छौं,” उनले भने, “यसले हृदयघात जस्ता गम्भीर अवस्थाका बिरामीलाई तत्काल उपचार दिन सम्भव बनाउनेछ।”

    हाल सुदूरपश्चिममा कुनै पनि अस्पतालमा क्याथ ल्याब सेवा उपलब्ध छैन। मुटुको ब्लकेज, हृदयघात लगायतका समस्या भएका बिरामीलाई अझै पनि काठमाडौं वा भारतसम्म जानुपर्ने बाध्यता छ। यस्ता बिरामीको उपचारमा समयमै पहुँच नपुग्दा ज्यान जोखिममा पर्ने अवस्थालाई न्यूनीकरण गर्ने उद्देश्यसहित यो सेवा अघि बढाइएको हो।

    गेटा अस्पतालको यो प्रयासले सुदूरपश्चिम प्रदेशको स्वास्थ्य प्रणालीमा नयाँ अध्याय थपेको छ। विशेषज्ञ सेवा विस्तारसँगै आधुनिक प्रविधिको प्रयोग हुँदै गएमा राजधानीसँगको दूरीका कारण उत्पन्न हुने कठिनाइ हट्ने अपेक्षा गरिएको छ।