काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले डेडिकेटेड र ट्रंक लाइनको बाँकी बक्यौता रकम तत्काल असुल गर्न निर्देशन दिएका छन्।
आज (बिहीबार) मन्त्रालयमा आयोजित छलफलमा उनले सो निर्देशन दिएका हुन् । उनले २०७२ माघदेखि २०७५ वैशाखसम्म ट्रंक लाइन र डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति लिएका उद्योगहरूबाट बाँकी रहेको महसुल अब कुनै छुट नदिई उठाउन स्पष्ट अडान लिएको बताए।
ऊर्जा सचिव, विद्युत् नियमन आयोगका अध्यक्ष र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँगको छलफलमा मन्त्री खड्काले टिओडी मिटरका आधारमा बक्यौता रकम यकिन गरी तत्काल असुली प्रक्रिया अघि बढाउन निर्देशन दिएको बताएका छन्। उनले भने, “समितिको प्रतिवेदन, नियमन आयोगको सुझाव र मन्त्रिपरिषद्को निर्णयअनुसार अब कार्यान्वयनमा ढिलाइ सह्य हुने छैन। यो बक्यौता असुली अब नछुट्ने गरी अगाडि बढ्नुपर्छ।”
यसअघि विभिन्न समिति र आयोगले दिएको सुझाव कार्यान्वयनमा ढिलाइ हुँदा उद्योगी र प्राधिकरणबीचको विवाद लम्बिँदै आएको थियो।