काठमाडौं– हङकङमा आजदेखि सुरु भएको टी–२०आई क्रिकेट प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले हराएको छ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो। ओपनर कुशल भुर्तेलले सर्वाधिक ३८ रन बनाए भने कप्तान रोहित पौडेल ३७ रनमा अविजित रहे।
आसिफ शेखले ३३ रन बनाउँदा बसिर अहमद ३० रनमा अविजित रहे। कतारका मुजीब उर रेहमानले २ विकेट लिए।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो।
कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए। ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे। शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे।
नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले एकरएक विकेट लिए। पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन्।
नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ। टी–२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन्।
यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन्। नेपालले दोस्रो खेल बिहीबार कुवेतसँग खेल्ने छ।