विराटनगर– कोशी प्रदेशका दुई मन्त्रालयले १९ करोड बढी बेरुजु उठाएका छन्।स्वास्थ्य मन्त्रालयले पछिल्लो ६ महिनामा ५३ लाख एक हजार बेरुजु उठाएको हो। सोही अवधिमा भौतिक पूर्वाधार विकास मन्त्रालयले १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु उठाएको छ।
दुवै मन्त्रालयको नेतृत्व भूपेन्द्र राईले गरिरहेका छन् । बेरुजु असुललाई अभियानकै रुपमा सञ्चालन गर्दा १९ करोड १४ लाख रुपैयाँ बेरुजु उठेको हो ।
स्वास्थ्य मन्त्रालयबाट १३ करोड ८५ लाखभन्दा बढी बेरुजु नियमित गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ३९ करोड ४७ लाख ९४ हजार ७९६ रुपैयाँ बेरुजु नियमित गर्नुपर्ने थियो। जसमा १३ करोड ८५ लाख २३ हजार बेरुजु नियमित भएको हो।
उठाउनु पर्ने दुई करोड २३ लाख ३९ हजार २७१ रुपैयाँमध्ये ५३ लाख १ हजार १२ रुपैयाँ असुल भएको हो। मन्त्रालयले अब एक करोड ७० लाख ३८ हजार २५९ रुपैयाँ उठाउन बाँकी रहेको जनाएको छ।
आर्थिक वर्ष २०८०–८१ सम्ममा भौतिक पूर्वाधार मन्त्रालय र मातहतका अन्य १२ वटा कार्यालयको उठाउनु पर्ने बेरुजु रकम ३६ करोड ५१ लाख ७४ हजार ९४० रुपैयाँ थियो। सो मध्ये १८ करोड ६० लाख ९ हजार ७१७ रुपैयाँ बेरुजु असुल गरेको हो।
भौतिक पूर्वाधार विकास मन्त्रालयको नियमित गर्नुपर्ने बेरुजु रकम एक अर्ब ७४ करोड ६० लाख १९ हजार १६६ रुपैयाँ छ। सोमध्ये ६ महिनाको अवधिमा २१ करोड २० लाख ३० हजार ६८४ रुपैयाँ नियमित भएको छ।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा दुवै मन्त्रालयले उठाउनु पर्ने बेरुजु सबै असुल गर्ने लक्ष्य रहेको मन्त्री राईले बताएका छन्।