काठमाडौँ– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ। यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
हाल कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ साथै देशभर तुवाँलो लागेको अवस्था छ।
कोशी प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेस, बागमती, लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।
वर्षा, हिमपात लगायत तुवाँलोका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।