नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षकहरू भने सडक आन्दोलनमा - Chaitanya News
  • 2026-07-17
  • 08:31:26
  • शुक्रबार,साउन ०१, २०८३
  • नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षकहरू भने सडक आन्दोलनमा

    नयाँ भर्ना अभियानको योजना बनाउँदै सरकार, शिक्षकहरू भने सडक आन्दोलनमा

    काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ। तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन्।

    शिक्षकहरूको आन्दोलन जारी रहे नयाँ भर्ना अभियान समेत प्रभावित हुने भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानको योजना बनाएर फाइल मन्त्रालयमा पठाएको। ‘भर्ना अभियानको गृहकार्य भइरहेको छ। योजना बनाएर मन्त्रालयमा पठाएका छौँ,’ केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने।

    केन्द्रले भर्ना अभियान, निःशुल्क पाठ्यपुस्तक, प्रारम्भिक बालविकास, छात्रवृत्ति लगायतका योजना बनाएको छ। शैक्षिकसत्र अगाडि नै विद्यार्थीलाई हातहातमा पुस्तक पुर्‍याउने योजना सहित पुस्तक जिल्ला जिल्लामा पठाउने काम भइरहेको छ। तर विद्यालयबाट विद्यार्थीलाई वितरण गर्न शिक्षक नै सडक आन्दोलनमा छन्।

    भर्ना अभियान सुरु हुनुअघि शिक्षकसँग सहमति हुने विश्वास केन्द्रको छ। ‘शिक्षकहरूले जिम्मेवारीवोध गर्नुहुन्छ। संसदको समितिमा विधेयक छ। उपसमिति बनाएर प्रक्रिया अगाडि बढेको छ। प्रधानमन्त्री र मन्त्रीले चासो दिनुभएको छ। छिटै सहमति हुने विश्वास छ,’ महानिर्देशक काप्रीले भने।

    शिक्षक महासंघले भने चैत २५ गतेदेखि आम शैक्षिक हड्ताल घोषणा नै गरेको छ। यदि वैशाखअघि सहमति नभए ७० लाख बढी बालबालिकाको पढाइ प्रभावित हुनेछ।