काठमाडौँ– नेपाल उद्योग परिसंघ (सीएनआई) र थाई उद्योग महासङ्घ (एफटीआई) बिच दुई देशबिच लगानीका अवसर सिर्जना गर्दै नेपाल र थाइल्यान्डबिचको आर्थिक तथा व्यावसायिक सम्बन्ध थप सुदृढ गर्न समझदारी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पेतोङत्रान शिनावात्राको उपस्थितिमा बुधवार थाइल्यान्डको बैंककमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र एफटीआईका अध्यक्ष क्रियेंग्राई थेननुकुलले हस्ताक्षर गरेका हुन्।
लगानी तथा व्यापार प्रबद्र्धनसँगै आर्थिक तथा व्यापार सम्बन्धी अध्ययन÷अनुसन्धान, तालिम तथा क्षमता विकास, कानुनी, नीतिगत विषयमा जानकारी आदानप्रदानलगायतमा सहकार्य गर्ने दुई संस्थाबिच समझदारी भएको हो।
विदेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त गन्तव्य मुलुक भएकाले यो समझदारीले थाइल्याडको लगानी भित्र्याउन सहयोग गर्ने विश्वास परिसंघका अध्यक्ष अग्रवालको थियो।
उनले लगानी प्रवर्द्धन गर्न सहयोग गर्ने गरी सरकारले कानुनहरूमा सुधार गरेको र यसबाट लगानीकर्ताले फाइदा लिन सक्ने बताए। परिसंघले बजारका हिसाबले समेत विश्वका दुई ठुला मुलुकका बिच रहेकाले नेपालमा लगानी गर्दा धेरै फाइदा लिन सकिने भएकाले विदेशी लगानीकर्तालाई लगानीका लागि परिसंघले आह्वान गर्दै आएको छ।