काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) २०२५ को दोस्रो खेलमा आज बुटवल लुम्बिनी एफसीसँग झापा एफसी भिड्ने भएको छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ।
हिजो (शनिबार) सुरु भएको एनएसएलको तेस्रो संस्करणमा ७ टोली सहभागी छन्। लिग चरणमा ६ खेल मात्र हुने भएकोले दुवै टोली विजयी सुरुवात गर्ने लक्ष्यमा हुनेछन्। एनएसएलमा गत संस्करण डेब्यु गरेको झापाले बुटवल लुम्बिनीलाई १–० ले हराएको थियो।
बुटवल लुम्बिनीको कप्तानी मिडफिल्डर एरिक विष्टले गर्नेछन्। राष्ट्रिय टिमका अर्का मिडफिल्डर मनिष डाँगी बुटवलको मार्की प्लेअरमा छन्। उता राष्ट्रिय टिमकै मिडफिल्डर लकेन लिम्बु झापाको मार्की प्लेअर र कप्तानमा छन्। यस पटक लकेन सामु धेरै जिम्मेवारी छ।
बुटवल लुम्बिनीमा मनिष र एरिकसँगै राष्ट्रिय टिमाका गोलकिपर दीप कार्की, सुमन श्रेष्ठ र विमल पाण्डे छन्। यस्तै राष्ट्रिय टिमबाट खेलेका युवा फरवार्ड निराजन धामी र राष्ट्रिय टिममा परेका अर्का गोलकिपर टिकेन्द्र थापा पनि यसै टिममा छन्।
बुटवलमा राष्ट्रिय टिमको अनुभव लिएका आधा दर्जन खेलाडी छन्। यस्तै विदेशी खेलाडीहरमा पनि बुटवल लुम्बिनीमा राम्रो नामहरु छ। बुटवल लुम्बिनी यस सिजन विदेशी गोलकिपर अनुबन्ध नगर्ने एक्लो टोलीको रुपमा रहेको छ।
बुटवल लुम्बिनीले विदेशी खेलाडीमा इंग्ल्याण्डका डिफेण्डरद्वय एडम मिटर र नाथन माभिला, जापानका मिडफिल्डर केन्टा होरा र स्कटिस मिडफिल्डर फ्रांक रोस, नाइजेरियन फरवार्ड इजेकेल तामारा र घानाका फरवार्ड फिलिपि अजालाई अनुबन्ध गरेको छ।
उता झापा एफसीमा लकेनसँगै राष्ट्रिय टिमबाट खेल्ने डिफेण्डर छिरिङ लामा पनि छन्। झापाले यस पटक छिरिङलाई मात्र रिटेन गरेको थियो। यस्तै झापाले अक्सनमा लिएर गोलकिपर एन्जल श्रेष्ठ भर्खरै राष्ट्रिय टिममा परेका छन्। उनले डेब्यु गर्न बाँकी छ। गत वर्ष एन्जलले काठमाडौं रेजर्सबाट एनएसएल खेलेको थियो।
यस बाहेक राष्ट्रिय टिमको अनुभव भएका डिफेण्डर आशिष गुरुङ पनि झापामा छन्। झापाबाटै खेलेका उज्वल राई पनि यस पटक झापामा छन्।
झापाले नेपाली राष्ट्रिय टिमबाट डेब्यु गरिसकेका र हाल अष्ट्रेलियामा रहेका मिडफिल्डर ऋतिक खड्कालाई पनि अनुबन्ध गरेको छ। झापाले अमेरिकामा खेल्ने भुटनिज खेलाडी प्रविन बस्नेतलाई पनि अनुबन्ध गरेको छ र हङकङमा खेल्दै आएका नेपाली मिडफिल्डर आर्यन राईलाई पनि भित्र्याएको छ।
यस बाहेक विदेशी खेलाडीले झापाले उज्वेकिस्तानका अजामात अब्दुलेभ र मुहम्मद इसाएभ, नाइजेरियाका फरवार्ड अल्हाजी गेरो, सर्वियन फरवार्ड लाजार अर्सिक र मोन्टेनेग्रोका किपर नेमान्जा लेमासिकलाई अनुबन्ध गरेको छ।