नेपालमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात - Chaitanya News
  • 2026-07-06
  • 02:11:11
  • आइतबार,आषाढ २१, २०८३
  • नेपालमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात

    नेपालमा उत्पादन भएको ८८ प्रतिशतभन्दा बढी चिया निर्यात

    काठमाडौँ– नेपालमा उत्पादित ८८.६ प्रतिशत चिया निर्यात हुने गरेको पाइएको छ। नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयले आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाले कोशी प्रदेशमा प्रशोधित अर्थोडक्स चिया ११.४ प्रतिशत मात्र आन्तरिक बजारमा खपत हुने जनाएको हो। यस्तै अर्गानिक सर्टिफाइड चिया २१.६३ प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको छ।

    कोशी प्रदेशमा उत्पादित अर्थोडक्स चियाले नेपालको चिया उद्योग विकासमा महत्वपूर्ण भूमिका खेलेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको माग बढ्दै जाँदा यसको आर्थिक प्रभाव पनि उल्लेखनीय देखिन्छ। अर्थोडक्स चियाको गुणस्तर, प्राकृतिक स्वाद, र सुगन्धले अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान बनाएको अध्ययनले देखाएको छ। विशेषगरी इलाम, पाँचथर, धनकुटा, तेह्रथुम र संखुवासभा जिल्लाहरूमा ओर्थोडक्स चियाको व्यावसायिक खेती विस्तार भइरहेको छ।

    अध्ययनका अनुसार कोशी प्रदेशमा हाल एक सय वटा अर्थोडक्स चिया प्रशोधन उद्योगहरू सञ्चालनमा छन्। जसमा २१ वटा अर्गानिक सर्टिफाइड र ७९ वटा अर्गानिक अनसर्टिफाइड छन्। आर्थिक वर्ष २०७९–०८० मा ७८ लाख ३८ हजार ९४६ केजी प्रशोधित अर्थोडक्स चिया उत्पादन भएको थियो। कुल उत्पादनमा अर्गानिक सर्टिफाइड चियाको हिस्सा ११.९ प्रतिशत र अनसर्टिफाइड चियाको हिस्सा ८८.१ प्रतिशत रहेको छ।

    अध्ययनमा सहभागी ८४ उद्योगमा कुल ३ अर्ब ६८ करोड ७४ लाख रुपैयाँ लगानी रहेको पाइएको छ, जसमध्ये ३६.४ प्रतिशत ऋण र ६३.६ प्रतिशत स्वपुँजी रहेको छ।

    वैदेशिक लगानी भने दुई उद्योगमा मात्र रहेको छ। त्यस्तै अर्गानिक सर्टिफाइड चियाको आन्तरिक बजार मूल्य प्रतिकेजी ९४१.६० रुपैयाँ छ भने अन्तर्राष्ट्रिय बजार मूल्य ८०१.५१ रुपैयाँ छ। अनसर्टिफाइड चियाको मूल्य भने आन्तरिक बजारमा ४३३.७१ रुपैयाँ र अन्तर्राष्ट्रिय बजारमा ४०८.३१ रुपैयाँ मात्र छ।