पछिल्लो ८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात - Chaitanya News
  • 2026-07-06
  • 02:11:35
  • आइतबार,आषाढ २१, २०८३
  • पछिल्लो ८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात

    पछिल्लो ८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात

    काठमाडौँ– नेपालमा २०८१–८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात भएको छ। भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार, साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१–८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात भएको हो ।

    यसरी आयात भएका विद्युतीय चुलोहरूलाई इन्डक्सन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको छ। गत वर्षको यही अवधिमा २२ करोड ६६ लाख खर्चेर १० लाख ३ हजार ७३० ओटा विद्युतीय चुलो भित्र्याइएको थियो।

    अहिले नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत,कतार, सिंगापुर, बङ्गलादेश, मलेसियाबाट पनि त्यस्ता चुलोहरू ल्याउने गरिएको छ। सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले जानकारी दिए।

    नेपालमा विद्युत् आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको सम्बद्ध विज्ञ तथा विक्रेताहरू बताउँछन्। सन् २०१५ को इन्धन संकटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ छ।

    उर्जाविज्ञ विजयमान शेरचनले सिलिन्डरबाट निस्कने ग्यासले प्रदूषण उल्लेख्य बढाएकाले यसको प्रयोग निरुत्साहित गर्दै जानुपर्ने बताए।