काठमाडौँ– नेपालमा सुक्खायाम सुरु भएसँगै औद्योगिक क्षेत्रमा बिजुली अभाव गहिरिँदै गएपछि नेपाल सरकारले भारतलाई साँझको समयमा २ सय ३० मेगावाट बिजुली उपलब्ध गराउन औपचारिक अनुरोध गरेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको आग्रहमा परराष्ट्र मन्त्रालय मार्फत भारतीय दूतावासलाई प्रस्ताव पठाइएको छ । उद्योगहरूमा लोडसेडिङको अवधि बढ्दै गएपछि बुधबार साँझ ६ देखि राति १० बजेसम्मका लागि बिजुली आपूर्ति गर्न भारतलाई अनुरोध गरिएको हो।
हाल नेपालमा औद्योगिक क्षेत्र दैनिक १२ घण्टासम्म लोडसेडिङको मारमा परेको छ। भारतबाट हाल दैनिक ७ सय मेगावाटभन्दा बढी बिजुली आयात भइरहे पनि पछिल्लो समय भारतले बिहान ६ देखि बेलुका ६ बजेसम्म मात्र बिजुली उपलब्ध गराउने नीति लिएको छ। जसका कारण उद्योगहरू प्रभावित भएका छन्।
ऊर्जा मन्त्री दीपक खड्काले नेपालमा जलविद्युत् उत्पादन सुक्खायाममा घट्ने भएकाले साँझको समयमा बिजुली आपूर्तिका लागि भारतलाई अनुरोध गरिएको बताए।
परराष्ट्र मन्त्री डा. आरजु राणाले भारतीय विदेश मन्त्री एस जयशंकरलाई साँझको समयमा बिजुली आपूर्ति सहज बनाउन अनुमति दिन आग्रह गरिसकेको र भारतीय दूतावासले समेत नेपाललाई आवश्यक सहयोग गर्न भारत सरकारसँग समन्वय गरिरहेको जनाइएको छ।