८ महिनामा पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण - Chaitanya News
  • 2026-07-06
  • 03:40:54
  • आइतबार,आषाढ २१, २०८३
  • ८ महिनामा पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

    ८ महिनामा पौने २७ खर्ब पुग्यो नेपालको सार्वजनिक ऋण

    काठमाडौं– सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्यांक नेपालको सार्वजनिक ऋण पौने २७ खर्ब नाघेको देखाएको छ। कार्यालयको तथ्यांक अनुसार फागुन मसान्तसम्म यस्तो ऋण २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको हो।

    चालु आर्थिक वर्षको सुरुमा २४ खर्ब ३४ अर्ब रुपैयाँ रहेको उक्त ऋण ८ महिनामा अवधिमा मात्रै २ खर्ब ४२ अर्ब रुपैयाँले बढेको हो। यो ऋण रकम नेपालको कुल गार्हस्थ्य उत्पादनको ४६.९१ प्रतिशत बराबर हो ।

    उक्त रकममध्ये आन्तरिक ऋण दायित्वतर्फ १३ खर्ब १५ अर्ब रुपैयाँ तथा बाह्य ऋण दायित्वतर्फ १३ खर्ब ६० अर्ब रुपैयाँ रहेको कार्यालयले जनाएको छ। आन्तरिक र बाह्य ऋणको यो हिस्सा क्रमशः ५०.८३ प्रतिशत तथा ४९।१६ प्रतिशत हो।

    चालु आर्थिक वर्षको फागुन मसान्तसम्म सरकारले २ खर्ब ६९ अर्ब १५ करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाएको छ। यस्तै, बाह्य क्षेत्रबाट ६५ अर्ब ४७ करोड रुपैयाँ प्राप्त गरेको छ।

    यही अवधिमा १ खर्ब ३४ अर्ब ४७ करोड बराबर तथा बाह्यतर्फ २४ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणको सावाँ तिरेको कार्यालयले जनाएको छ। त्यस्तै, यही अवधिमा ३६ अर्ब ९७ करोड रुपैयाँ बराबरको आन्तरिक ऋणको ब्याज भुक्तानी तथा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बाह्य ऋणको ब्याज भुक्तानी गरेको तथ्यांक छ।

    अहिलेसम्म विदेशी विनिमयदरमा भएको ह्रासका कारण मात्रै ६६ अर्ब २९ करोड रुपैयाँ बराबरको ऋण वृद्धि भएको कार्यालयले जनाएको छ।

    सरकारले यो वर्ष ३ खर्ब ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण तथा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको बाह्य ऋण उठाउने लक्ष्य लिएको छ। त्यसमध्ये अहिलेसम्म प्राप्ति प्रतिशत आन्तरिकतर्फ ८१.५६ तथा बाह्यतर्फ ३०.१७ प्रतिशत हो।

    यो ऋण रकम प्रतिव्यक्ति ९० हजार ३२० रुपैयाँ बराबर हो। २०७८ को जनगणना अनुसारको जनसंख्या र वार्षिक वृद्धिदर समेतका आधारमा प्रतिव्यक्ति ऋण सो बराबर पुगेको हो।