दमक– नेपाली कांग्रेसका महामन्त्री एवम् झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि अब देश युवाको नेतृत्वमा जानुपर्ने बताएका छन।
जनचाहना बुझेर अघि बढ्नु पर्ने बताउँदै उनले यस्तो बताएका हुन। उनले अवसर र प्रधानमन्त्री पटकपटक आफैँले पाउनुपर्छ भन्ने प्रवृत्ति ठिक नभएको भन्दै यसको विपक्षमा आफू रहेको स्पष्ट पारे।
झापाको धुलाबारीमा मंगलबार भएको अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै शर्माले अहिले पदका लागि आफ्नो कुनै दाबी नरहेको स्पष्ट पारेका हुन। उनले सहज रूपमा नयाँ पुस्तालाई अगाडि उभ्याउनका लागि परिपक्क रूपमा आफू अघि बढ्ने प्रतिबद्धतासमेत जनाए।
‘‘अहिले मलाई कुनै मन्त्री वा केही पदको लोभ छैन’’, शर्माले भने। उहाँले आफू कुनै पदमा जाने वा नजाने ठूलो कुरा नभएको प्रष्ट पार्नुभयो। ‘‘एकदिन म प्रधानमन्त्री बनेर यस क्षेत्रले गर्व गर्ने अवस्था सिर्जना गर्छु’’, शर्माले भने। अहिले पनि धेरैले मलाई मन्त्री बन्नका लागि प्रस्ताव तथा जिज्ञासा राखेको भन्दै उनले यस्तो बताएका हुन।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आशावादी रहेको बताए।
शर्माले राजनीतिक रूपान्तरण सिंहदरबारदेखि सुरु गर्नुपर्ने र बिस्तारै त्यसको असर सबैतिर पर्नेसमेत बताउनुभएको छ। ‘‘सिंहदरबार बदलियो भने तल आएर जिल्ला प्रशासन कार्यालय बदलिन्छ र जिल्ला प्रशासन बदलिएपछि मालपोत आफै बदलिन्छ’’, उनले भने।
शर्माले बलियो राष्ट्रियता बनाउने, राजनीतिमा परिवर्तन गरेर अहिलेको व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए। ‘‘निर्वाचन जित्नुमात्र ठूलो विषय होइन, अब सामाजिक रूपान्तरणको विषयलाई कसरी सम्बोधन गर्न सकिन्छ भनेर जुट्नु आवश्यक छ’’, उनले भने ।