काठमाडौं– चालु आर्थिक वर्ष २०८१–८२ को ८ महिना (साउन–फागुन) मा झन्डै साढे ५ लाख युवाले नेपाल छाडेर विदेश गएका छन्।
फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन्। योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यो संख्या गत आव २०८०–८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो। अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो।
नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै विदेशिने गरेका छन्। प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ।
यूएई मुख्य गन्तव्य:
यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको छ। विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन्। योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २ सय ५० जनाले श्रम स्वीकृति लिएका छन्।
यस वर्ष विदेशिएका कुल युवामध्ये यूएई गएको संख्या ३२.४१ प्रतिशत छ। यूएईपछि साउदी अरब, कतार, कुवेत, मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ।
यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ। गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ। यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ।
जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन्। क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन्।
घटेन अदक्ष कामदारको विदेश यात्रा:
यस वर्ष पनि नेपालबाट अदक्ष कामदारको विदेश यात्रा घट्न नसकेको तथ्यांकले देखाएको छ। फागुनमा मात्र २० हजार ८ सय २४ अदक्ष कामदार विदेशिएका छन्। माघमा यो संख्या २२ हजार ३ सय ७४ थियो।
त्यस्तै पुसमा २० हजार ५ सय ६६ अदक्ष कामदारले श्रम स्वीकृति लिएका थिए। मंसिरमा अदक्ष कामदार संख्या २१ हजार ७ सय १६ थियो। कात्तिकमा यो संख्या १५ हजार ९ सय ७१ थियो।
कुन महिना कति विदेशिए ?
यस वर्ष साउनमा ५९ हजार ५ सय ७५ जना विदेशिएको तथ्यांक छ। भदौमा ५७ हजार ४ सय ९३, असोज ५३ हजार ५ सय २५, कात्तिक ७० हजार ९ सय ९०, मंसिर ८४ हजार २ सय २६ र पुसमा ६७ हजार २ सय ५८ जना विदेशिएका थिए।
त्यस्तै माघमा ७२ हजार ४ सय ४१ जनाले श्रम स्वीकृति लिएका छन्। चाडबाड लगत्तै नेपालीहरू बढी विदेश जाने गरेको ट्रेन्ड देखिन्छ।