काठमाडौं– काठमाडौंको बागमती किनारमा बसोबास गर्ने सुकुम्बासीहरुले मंगलबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन्। काठमाडौं महानगरपालिकाको कार्यालय अघिल्ति भेला भएर प्रदर्शन गर्ने सुकुम्बासहरुले आफ्नो नाममा राजनीति भइरहेको गुनासो गरेका छन्। उनीहरुले वास्तविक सुकुम्बासीलाई उचित व्यवस्थापन गर्दै नक्कली सुकुम्बासीलाई कारवाही गन महानगर प्रमुख बालेन्द्र साह (बालेन) सँग माग राखेका छन्।
प्रदर्शनको क्रममा उनीहरुले नक्कली सुकुम्बासीलाई हटाउने महानगरको कार्यमा आफूहरूको ऐक्यबद्धता रहेको भन्दै
उनीहरुले महानगरसमक्ष ज्ञापनपत्र बुझाएका हुन्।
उपत्यकाबासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले काठमाडौं महानगरपालिकाको मुख्यद्वारमा पुगेर भूमि भएकाहरू कसरी सुकुमबासी हुन्छ? भनेर प्रश्न गरेका छन्।
मेयर साहसमक्ष बुझाइएको ज्ञापनपत्रमा थापाथलीस्थित बाग्मती खोलाको किनारामा रहेको सार्वजनिक सरकारी जग्गा अतिक्रमण गरी आफू खुशी, अस्वाभाविक एवं अनियन्त्रित कथित सुकुम्बासीको बसोबासले सँगै रहेको खोलाको प्रदूषण, राजधानीको सौन्दर्यसमेतमा प्रतिकूल असर पारिरहेको उल्लेख छ।
ज्ञापनपत्रमा ‘अस्तव्यस्त बसोबासले गर्दा अनेक राजनैतिक, सामाजिक, सांस्कृतिक विकृति, विसंगति एवं दिउँसै खुलारूपमा घरेलु हातहतियारको प्रदर्शनी कारण समेतले राजधनी भयावह, असुरक्षित तथा सन्त्राशमय वातावरण उत्पन्न भई स्थानिय जनताहरुप्रति गहिरो मानसिक दवाव उत्पन्न भई अशान्ति फैलिएको’ उल्लेख छ।