काठमाडौं – नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नम्बर १ का नवनिर्वाचित सांसद प्रकाशमान सिंहले खारेज भएको मेलम्ची खानेपानी विकास समिति तत्काल ब्युँताउन सरकारको ध्यानाकर्षण गराएका छन्। मंगलबार काठमाडौंका नवनिर्वाचित सांसदहरुसहित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई मेलम्ची खानेपानी आयोजनाबारे ध्यानाकर्षण पत्र बुझाउँदै उनले यस्तो माग गरेका हुन्।
उनले आर्थिक वर्ष २०७९–८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेसँगै मेलम्ची खानेपानी आयोजनाको काम प्रभावित भएर अन्योलता देखिएको भन्दै सरकारले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने माग राखे। नेता सिंहले मेलम्ची मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पु¥याउन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए।
उनले सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक रहेको बताए। नेता सिंहले वर्षैभर काठमाडौंमा पानी पथान्तरणका लागि फास्ट ट्रयाकमा काम गर्न अवश्यक रहेको बताए। उनले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत भएको बताए।
नेता सिंहले पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देखेको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना काँग्रेस नेतृत्वमै सरकारले साकार पार्नु गौरवको विषय भएको बताए। उनले बाढीपहिरोका कारण मेलम्चीको भविष्य अन्योलमा पर्ने काठमाडौँवासीमा चिन्ता छाएको भन्दै सरकारले काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई दीर्घकालीन रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता देखिएको बताए।
नेता सिंहले खानेपानीको इन्टेक रहेको स्थान असुरक्षित भए नभएको प्राविधिकबाट अध्ययन गरी असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुुपर्ने बताए। उनले भने, ‘राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना काठमाडौंवासीको खानेपानी समस्या समाधानको प्रमुख स्रोत हो। नेपाली काँग्रेसका संस्थापक नेता एंव पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई ज्यूले देख्नुभएको मेलम्चीको खानेपानी काठमाडौं ल्याउने सपना काँग्रेस नेतृत्वमै साकार भएको छ।’
उनले थपे, ‘यो हामी सबैका लागि गौरवको विषय हो। मेलम्चीको पानी काठमाडौं ल्याउन सरकारले देखाएको अग्रसरता र पहलकदमीप्रति काठमाडौंवासी आभारी छौं। २०७८ असार १ गते मेलम्चीमा गएको विनाशकारी बाढीपहिरोका कारण मेलम्चीको भविष्य अहिले अन्योलमा पर्ने होकी भन्ने काठमाडौँवासीमा चिन्ता छाएको छ।
बाढीपहिरोपछि हिउँदको समयमा अस्थायी रुपमा भएपनि काठमाडौं ल्याउने काम भएको छ। काठमाडौंको खानेपानी समस्या समाधानका लागि मेलम्ची आयोजनालाई पानी दीर्घकालीन रुपमा अगाडि बढाउनुपर्ने स्थलगत निरीक्षणपछि आवश्यकता महशुस भएको छ। त्यस कार्यमा सरकारको भुमिका प्रभावकारी रहनुपर्ने देखिन्छ। तसर्थ तपसिलका विषयमा सरकारले तत्कल कदम चाल्नुपर्ने आवश्यकताबारे जानकारी गराउदछौ । मेलम्ची खानेपानीका लागि तत्काल गर्नुपर्ने काम आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकोले आयोजनाको काम कारबाहीमा अन्योलता देखिएकोले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्युँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने,मुहान क्षेत्रका स्थानीय तहको माग सम्बन्धमा सम्बन्धित पालिकासँग छलफल गरी टुंगोमा पुग्नुपर्ने, सिएमसीले राखेका माग कानूनको परिधिभित्र रही सम्बोधन गर्न आवश्यक कार्य गर्नुपर्ने, वर्षैभरी पानी पथान्तरणका लागि फास्टट्रयाकमा कार्यान्वयन गर्न,गराउन आवश्यक निर्णय लिनुपर्ने ,कर्मचारीको तलवसुविधा लगायतका विषय तत्काल सम्बोधन गर्न आवश्यक छ।’
उनले फेरि भने, ‘दीर्घकालीन रूपमा गर्नुपर्ने कामहरु बाढीपहिरोपछि सोको कारणबारे एशियाली विकास बैंक लगायतका अन्तर्राष्ट्रिय संघसंस्थाले अध्ययन गरि पेश गरेको प्रतिवेदनको निस्कर्ष अनुसार आयोजना अगाडी बढाउनुपर्ने,अहिले खानेपानीको ईन्टेक रहेको स्थान असुरक्षित भए,नभएको प्राविधिकबाट अध्ययन गरी गराई असुरक्षित भए उपयुक्त स्थानमा इन्टेक बनाउनुुपर्ने,मेलम्ची बाढिपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्नुपर्ने, मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा सरकारले विशेष पहल गर्नुपर्ने र मेलम्चीको मुहान क्षेत्रमा अझै बाढीपहिरोको जोखिम रहिरहेको छ। अहिले अस्थायी रुपमा पानी ल्याउने तयारीले हामी उत्साही छौं। तर, केही महिनादेखि सेवा सुविधा नपाएको भनी कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेको खबरले महानगरवासी लगायत सम्पूर्ण नागरिक चिन्तित छौं। तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्य गम्भीरताका साथ अघि बढाउन ध्यानाकर्षण गराउँदछौँं।’
नेता सिंहले मेलम्ची बाढीपहिरोले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा भएको क्षतिलाई सम्बोधन गर्न पुनर्निर्माण लगायतका उचित व्यवस्था गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराए। उनले मुहान क्षेत्रमा सरकारले ध्यान नदिएका स्थानीयको गुनासो सम्बोधन गर्न मुहान क्षेत्रसम्म पक्की सडक बनाउनुपर्ने, शिक्षा र स्वास्थ्यमा विशेष पहल गर्नुपर्ने बताए। उनले केही महिनादेखि सेवा सुविधा नपाएको भनि आयोजनाका कर्मचारीले अन्तिममा पानी पठाउन रोकेर आन्दोलन गर्ने तयारी रहेकाले सरकारले तत्काल कर्मचारीको माग सम्बोधन गरी पानी काठमाडौं ल्याउने र स्थायी रुपमै पानी ल्याउनका लागि आवश्यक गृहकार्यमा गम्भीरताका साथ काम अघि बढाउन ध्यानाकर्षण गराए।