काठमाडौँ– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन्।आज (आइतबार) राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्त्वपूर्ण हुने धारणा व्यक्त गरे।
उनले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरूले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताए। प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिए।