समानुपातिकतर्फ काँग्रेसको २७ लाख मत नाघ्यो, कुन दलले कति पाए ? - Chaitanya News
  • 2026-04-30
  • 05:51:39
  • बिहिबार,बैशाख १७, २०८३
  • समानुपातिकतर्फ काँग्रेसको २७ लाख मत नाघ्यो, कुन दलले कति पाए ?

    समानुपातिकतर्फ काँग्रेसको २७ लाख मत नाघ्यो, कुन दलले कति पाए ?

    काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा रहेको छ ।

    निर्वाचन आयोगले आज समानुपातिकतर्फको सबै मत गणना सकिने बताएको छ । यसैबीच हालसम्म कूल एक करोड ५ लाख २३ हजार ७१५ मत गणना भएको छ ।

    हालसम्मको विवरणअनुसार नेकपा (एमाले) ले २८ लाख ३१ हजार २७६, नेपाली कांग्रेसले २७ लाख ४ हजार ४२७, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ७० हजार २६२ मत प्राप्त गरेका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २७ हजार ११३, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८७ हजार ८५५, जनता समाजवादी पार्टीले चार लाख २१ हजार ५५, जनमत पार्टीले तीन लाख ९४ हजार ५९९ मत प्राप्त गरेको छ । कूल खसेको सदर मतको तीन प्रतिशतभन्दा बढी मत पाउने राजनीतिक दलले राष्ट्रिय दलको मान्यता पाउने कानूनी प्रबन्ध छ ।

    त्यस्तै नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९७ हजार ८४३, नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार ७०६, लोकतान्त्रिक समाजवादी पार्टीले एक लाख ६७ हजार ३४०, नेपाल मजदुर किसान पार्टीले ७५ हजार ११९, हाम्रो नेपाली पार्टीले ५५ हजार ६८३, मङ्गोल नेशनल अर्गनाइजेशनले ४८ हजार ८८८ र राष्ट्रिय जनमोर्चाले ४६ हजार ४६० मत प्राप्त गरेको छ ।