सेयर बजारमा उच्च गिरावट - Chaitanya News
  • 2026-07-06
  • 06:45:37
  • सोमबार,आषाढ २२, २०८३
  • काठमाडौं– आज (आइतबार) सेयर बजार अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ४६.३३ अंकले घटेर २७७२ अंकमा कायम भएको छ।

    यो सहित लगातार पाँचौं दिन बजार घटेको छ। आज बजार खुलेदेखि कुनै पनि समय हरियो हुन सकेन।

    बजारको अंक घटे पनि कारोबार रकम उस्तै छ। अघिल्लो दिन १० अर्ब १० करोडको कारोबार भएकोमा आज १० अर्ब ९ करोडको भयो। कुल २४ कम्पनीको मूल्य बढ्दा २१७ को घट्यो भने २ को स्थिर रह्यो।

    यस दिन सबै सेक्टर घटेका छन्। अन्य सेक्टर सबैभन्दा धेरै २.६९ प्रतिशत घट्यो। दुई पुनर्बीमा कम्पनी हिमालयन रि र नेपाल पुनर्बीमाको मूल्यमा आएको करेक्सनले समग्र सेक्टरलाई बढी प्रभाव पार्‍यो।

    बैंकिङ १.३६, विकास बैंक १.७१, फाइनान्स १.८७, हाइड्रोपावर १.६६, लगानी २.४९, जीवन बीमा १.७४, उत्पादन ०.९१, माइक्रोफाइनान्स १.५८, निर्जीवन बीमा १.२६, अन्य २.६९ तथा व्यापार ०.८१ प्रतिशत घटे।

    गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र भूगोल इनर्जीको मूल्य १० प्रतिशत बढ्यो । बढेका अरु कम्पनीको वृद्धिदर ४ प्रतिशतभन्दा न्यून रह्यो ।

    उपकार लघुवित्त र सिन्धु विकास बैंकको मूल्य १० प्रतिशत घट्यो। राप्ती हाइड्रोपावरको ९.८७, समाज लघुवित्तको ७.२८ तथा सगरमाथा जलविद्युतको मूल्य ५.२८ प्रतिशत घट्यो।

    हिमालयन रिइन्स्योरेन्सको सबैभन्दा धेरै १ अर्ब १२ करोडको कारोबार भयो । कम्पनीको मूल्य भने २.५२ अंक घट्यो। त्यसपछि कारोबारका आधारमा नेपाल पुनर्बीमा, एनआरएन इन्फ्रास्ट्रक्चर, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स र सीईडीबी होल्डिङ्स क्रमशः अगाडि रहे।