काठमाडौं– एसियाली विकास बैंक (एडीबी) ले नेपालका लागि चार वर्षे (सन् २०२५–२०२९) रणनीतिक कार्यायोजन प्रस्तुत गरेको छ
अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले काठमाडौंमा आयोजना गरेको १५औं सदस्य प्रशिक्षण कार्यक्रममा एडीबीका देशीय सञ्चालन प्रमुख अर्नोड हेकम्यानले समावेशी, हरित र रोजगारमूलक आर्थिक वृद्धिसम्बन्धी तीन वटा रणनीतिक कार्ययोजना प्रस्तुत गरेको एमच्यामले जनाएको छ।
उक्त रणनीतिक कार्ययोजनामा निजी क्षेत्रको नेतृत्वमा रोजगारीमूलक हरित आर्थिक रूपान्तरण प्रवर्द्धन, समावेशी र गुणस्तरीय मानव पूँजी विकास तथा सार्वजनिक सेवा प्रवर्द्धन र वातावरणीय दिगोपन तथा जलवायु सशनशीलता अभिवृद्धि रहेको एमच्याम नेपालका महाप्रबन्धक अमिर आर थापाले जानकारी दिए।
हाल नेपालमा एडीबीले विभिन्न ३२ परियोजना सञ्चालन गरिरहेको छ। जसमा कुल ४ अर्ब ३० करोड अमेरिकी डलर बराबर लगानी भएको छ। ती परियोजना मार्फत निजी क्षेत्रको विकास, कृषि, शिक्षा, ऊर्जा, वित्त, उद्योग तथा व्यापार, सार्वजनिक क्षेत्र व्यवस्थापन, यातायात, सहरी विकासजस्ता क्षेत्रमा काम भइरहेको एडीबीको भनाइ छ।
सोही अवसरमा एडीबीका नेपालस्थित आवासीय निर्देशक अर्नोड काउचोइसले एडीबीको नेपालमा गरिरहेका गतिविधिबारे जानकारी गराएका थिए।
नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्लेनले बैंकले नेपालको विकासमा निजी क्षेत्रलाई विकासको प्रमुख साझेदारका रूपमा व्याख्या गर्दै सूचना प्रविधि (आईसीटी), ऊर्जा तथा पर्यटन क्षेत्रमा विशेष ध्यान दिइरहेको उल्लेख गरे।
उनले बैंकमार्फत नेपालमा पूर्वाधार विकास र खर्च बढाउँदै आर्थिक समृद्धिको आधार भएको उल्लेख गरे। यद्यपि, सन् २०१८ यताका वर्ष खर्चमा उल्लेख्य कमी आएको उनको भनाइ थियो।
बैंकले आर्थिक वर्ष २०२३–२४ मा खर्च कार्यान्वयन दर ८० प्रतिशतभन्दा तल झरेको र यो प्रवृत्ति आर्थिक विकासमा चुनौती हुन सक्ने जनाएको छ। पर्यटन, घरजग्गा, व्यापारजस्ता सेवा क्षेत्र आर्थिक वृद्धिका प्रमुख चालक बन्ने पूर्वानुमान गरिएको उनको भनाइ छ।