एकैदिन ७५ अंकले बढ्यो सेयर बजार - Chaitanya News
  • 2026-07-01
  • 03:47:16
  • मंगलबार,आषाढ १६, २०८३
  • एकैदिन ७५ अंकले बढ्यो सेयर बजार

    एकैदिन ७५ अंकले बढ्यो सेयर बजार

    काठमाडौँ– साताको पहिलो दिन आज (आइतबार) सेयर बजार एकैदिन ७५ अंक बढेको छ। आज बजार परिसूचक ७५.२४ अंकले बढेर २८९०.२८ विन्दुमा पुगेको हो। आज बजारमा १४ अर्ब २५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। बजारमा आज १९६ कम्पनीको मूल्य बढेको छ। ४४ कम्पनीको मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ।

    बजारमा आज म्युचुअल फण्डबाहेक सबै समूहको सूचक बढेको छ। उत्पादनमूलक उद्योगमा सर्वाधिक ४.७९ प्रतिशत, जीवन बीमामा ४.३१ प्रतिशत, फाइनान्समा ४।२८ प्रतिशत, होटल तथा पर्यटनमा ४.१४ प्रतिशत मूल्य बढेको छ। विकास बैंक, इन्भेस्टमेन्ट तथा निर्जीवन बीमा समूहमा पनि ३ प्रतिशत भन्दा धेरैले बृद्धि हुँदा बजार पुँजीकरणमा सबैभन्दा धेरै हिस्सा रहेको वाणिज्य बैंक समूहमा २.५३ प्रतिशत वृद्धि भएको छ।

    आज बजारमा ५ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीहरूमा हिमालयन डिस्टिलरी, गार्डियन माइक्रो लाइफ, नेपाल लाइफ इन्स्योरेन्स, सिन्धु विकास बैंक र दोर्दीखोला जलविद्युत रहेका छन्। समाज लघुवित्तमा भने नकारात्मक सर्किट लागेको छ।

    आज बजारमा नेपाल पुनर्बीमा कम्पनीको ९७ करोड र हिमालयन रिइन्स्योरेन्सको ८६ करोड रुपैयाँको कारोबार भयो। कारोबार संख्याको आधारमा हिमालयन पहिलो र नेपाल पुनर्बीमा दोस्रो स्थानमा रहेको छ।

    आज बजार बढ्नुमा राष्ट्र बैंकले लिएको खुकुलो मौद्रिक नीतिको प्रभाव, नेपाल राष्ट्र बैंकमा हुँदै गरेको नेतृत्व परिवर्तन तथा अर्थतन्त्रमा सुधार हुँदै गएको अवस्थालाई प्रमुख कारण मानिएको छ। बजारले अहिले लिएको उचाइ विगत ६ महिनाकै सबैभन्दा बढी हो।