६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने चीनको सिचवान प्रान्तीय सरकारको निर्णय - Chaitanya News
  • 2026-07-01
  • 01:54:13
  • मंगलबार,आषाढ १६, २०८३
  • ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने चीनको सिचवान प्रान्तीय सरकारको निर्णय

    ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने चीनको सिचवान प्रान्तीय सरकारको निर्णय

    काठमाडौँ– चीनको सिचवान प्रान्तीय सरकारले ६० जना नेपाली विद्यार्थीलाई प्रत्येक तीन वर्षमा छात्रवृत्ति दिने निर्णय गरेको छ। चीन भ्रमणमा रहेको कांग्रेस प्रतिनिधिमण्डल र सिचवान प्रान्तीय सरकारका मन्त्री र नेताहरूको छलफलपछि सिचवान सरकारले छात्रवृत्ति दिने घोषणा गरेको हो।

    छलफलमा नेतृ कोइरालाले नेपाली विद्यार्थीका लागि छात्रवृत्ति तथा चीनबाट लुम्बिनी र लुम्बिनीबाट पोखरा सिधा उडान सुरु गर्न आग्रह गरेकी थिइन्। उनले आफूले राखेको एउटा प्रस्ताव तुरुन्त सम्बोधन भएको र अर्को प्रस्ताव पनि चाँडै सम्बोधन हुने विश्वास समेत व्यक्त गरेकी छन्।

    चिनियाँ कूटनीतिज्ञ सरलाले कोइरालाको भ्रमणलाई आफूहरूले महत्त्वपूर्ण रूपमा लिएको र छात्रवृत्तिको विषय भ्रमणको महत्त्वपूर्ण उपलब्धि भएको प्रतिक्रिया दिएकी छन्। सरलाले चिनियाँ कम्युनिस्ट पार्टीले नेपालका सबै राजनीतिक दलहरूसँग समानस्तरको सम्बन्ध राख्न चाहेको धारणा समेत राखिन्।

    चीनले विचारको विभाजन रेखा राखेर दृष्टिकोण नबनाउने स्पष्ट पार्दै उनले यो भ्रमण कांग्रेससँगको सम्बन्ध अझै बलियो बनाउने उद्देश्यबाट अभिप्रेरित भएको समेत बताइन्। भ्रमण टोलीलाई सिचवानको प्रसिद्ध पर्यटकीय क्षेत्र कुवानझाईको अवलोकन समेत गराइएको थियो।

    बिहीबार चान्सी च्योङ समाजवादी नमुना गाउँको समेत अवलोकन भ्रमण गराइएको थियो। सो गाउँलाई चिनियाँ समाजवादी विकासको नमुना गाउँ समेत मानिन्छ। त्यसअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको संस्कृतिप्रतिको दृष्टिकोणबारे भ्रमण टोलीलाई जानकारी गराइएको थियो। यस्तो चीनको विकास र आगामी योजनाका विषयमा अन्तरक्रिया समेत भएको थियो।