गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने - Chaitanya News
  • 2026-04-28
  • 01:23:26
  • सोमबार,बैशाख १४, २०८३
  • गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

    गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

    काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र अवस्थाबारे छलफल गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक बस्दैछ।

    प्रधानमन्त्री निवास बालुवाटरमा आज दिउँसो ३ बजे बस्ने बैठकमा निर्वाचन परिणामको समीक्षा लगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले जानकारी दिए। गठबन्धनका शीर्ष नेतासहितको बैठकका नयाँ सरकार गठनबारे समेत छलफल हुने बताइएको छ।

    पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन्। यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन्।

    यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन्। यसअघि कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताले गठबन्धनकै नेतृत्वमा आगामी नयाँ सरकार बनाउने सम्बन्धमा विभिन्न चरणमा छलफल गरिसकेको बताएका छन्।