पूर्वाधार विकास समितिले गर्‍यो जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित - Chaitanya News
  • 2026-11-18
  • 12:01:09
  • बुधबार,मंसिर ०३, २०८३
  • पूर्वाधार विकास समितिले गर्‍यो जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित

    पूर्वाधार विकास समितिले गर्‍यो जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित

    काठमाडौँ– आज (बिहीबार) सिंहदरवारमा रहेको समितिको कार्यकक्षमा बसेको बैठकमा भएको विधेयकमाथिको दफावार छलफलपछि प्रतिनिधि सभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ।

    जलस्रोत स्वामित्व र विकासको अधिकार, आयोगको स्थापना, काम, कर्तव्य, अधिकारलगायतका १२ परिच्छेदका ५४ दफा ‘विधेयकको अंग बनोस्’ भनी सर्वसम्मतिले पारित भएको सभापति दीपकबहादुर सिंहले घोषणा गरे।

    समितिको बैठकले दफा १७ को उपदफा १ र २ लाई भने समितिको आगामी बैठकमा पुनः विस्तृत छलफल गरी पारित गर्ने भएको छ। विधेयकको दफा १७ मा ‘माथिल्लो र तल्लो तटीय लाभको गणना र बाँडफाँड’ सम्बन्धी व्यवस्था गरिएको छ।

    सो दफाको उपदफा १ मा ‘बाँध वा जलाशयको निर्माण गरी आयोजनाको विकास गर्दा त्यस्तो बाँध वा जलाशयबाट माथिल्लो र तल्लो तटीय क्षेत्रले प्राप्त गर्ने लाभ र जोखिमको विश्लेषण गरी तोकिएबमोजिम लाभको गणना र बाँडफाँड गर्नुपर्नेछ’ भनिएको छ।

    त्यसैगरी उपदफा २ मा ‘बाँध वा जलाशययुक्त आयोजनाको विकासबाट तल्लो तटीय लाभको हिस्सा नेपालको सीमापारको भूभागमा उपलब्ध हुने अवस्था भएमा त्यस्तो लाभको न्यायोचित हिस्सा नेपालले समेत प्राप्त गर्ने व्यवस्था मिलाउन आवश्यक कूटनीतिक पहल गर्नुपर्नेछ’ भनिएको छ।