सात महिनाको तथ्यांकअनुसार नेपालले भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोर्‍यो, कुन देशसँगको व्यापार कस्तो ? हेर्नूहोस् तथ्यांक - Chaitanya News
  • 2026-07-01
  • 00:07:47
  • मंगलबार,आषाढ १६, २०८३
  • सात महिनाको तथ्यांकअनुसार नेपालले भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोर्‍यो, कुन देशसँगको व्यापार कस्तो ? हेर्नूहोस् तथ्यांक

    सात महिनाको तथ्यांकअनुसार नेपालले भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोर्‍यो, कुन देशसँगको व्यापार कस्तो ? हेर्नूहोस् तथ्यांक

    काठमाडौं– भन्सार विभागले आज (बिहीबार) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१– ८२ को पहिलो सात महिनाको तथ्यांकअनुसार नेपालले भारत र चीनसँग सबैभन्दा ठूलो व्यापार घाटा बेहोरेको छ। कुल व्यापार घाटा ८६१ अर्ब रुपैयाँभन्दा बढी रहेको छ, जसमा भारत र चीनकै अंश मुख्य छ।

    नेपालले भारतबाट ५९६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात गरेको छ भने निर्यात मात्र ९८ अर्ब रुपैयाँ भएको छ। यसरी भारतसँग मात्र नेपालको व्यापार घाटा ४९८ अर्ब रुपैयाँ पुगेको छ।

    चीनबाट भने नेपालले १९२ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात गरेको छ, तर निर्यात केवल २ अर्ब रुपैयाँमा सीमित छ। यसले चीनसँग व्यापार घाटा १९० अर्ब रुपैयाँभन्दा माथि पुर्‍याएको छ।

    यसैगरी अमेरिका नेपालका लागि तेस्रो ठूलो व्यापार साझेदार बनेको छ। सात महिनामा अमेरिकाबाट १४ अर्ब ५८ करोड रुपैयाँको आयात भएको छ भने निर्यात १० अर्ब रुपैयाँ नाघेको छ।

    यस्तै, जर्मनीसँगको व्यापार घाटा तुलनात्मक रूपमा कम रहेको छ। नेपालले जर्मनीबाट ३ अर्ब ८१ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ भने निर्यात २ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

    नेपालले अफगानिस्तान, अष्ट्रेलिया, बहराइन, बंगलादेश, भूटान, क्यानडा, डेन्मार्क, हंगेरी, आइसल्यान्ड, इटाली, जापान, कुवेत, मलेसिया, माल्दिभ्स, माल्टा, मौरिसस, नेदरल्यान्ड्स, नर्वे, पाकिस्तान, पोल्याण्ड, कतार, रुस, सिंगापुर, दक्षिण अफ्रिका, स्पेन, श्रीलंका, तुर्की, बेलायत, अमेरिका जस्ता देशहरूमा सामान निर्यात गरेको छ।

    विशेष गरी अफगानिस्तानमा ५ करोड ९४ लाख रुपैयाँको निर्यात हुँदा नेपालबाट अर्जेन्टिनामा निर्यात भने नगन्य छ।

    विभागको तथ्यांकअनुसार नेपालको यस अवधिमा १५९ भन्दा बढी देशसँग कारोबार भएको छ।