लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशाला निर्माणका लागि ३ करोड दिने - Chaitanya News
  • 2026-06-30
  • 22:05:15
  • मंगलबार,आषाढ १६, २०८३
  • लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशाला निर्माणका लागि ३ करोड दिने

    लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशाला निर्माणका लागि ३ करोड दिने

    बुटवल– लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने भएको छ । आज (मंगलबार) बसेको लुम्बिनीको मन्त्रिपरिषद् बैठकले बुटवलको उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो।

    प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए।

    प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको थियो। अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ। यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो।

    रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको थियो। हाल निर्माण प्रक्रियालाई अघि बढाउन प्रदेश सरकारको मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयको सहमतिअनुसार आवश्यक बजेट व्यवस्थापनको निर्णय लिएको हो।

    यस्तै बैठकले प्रदेश पूर्वाधार विकास प्राधिकरणका उच्चस्तरीय निर्देशक समितिका विज्ञ सदस्यहरूको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ। भू–प्रविधि विज्ञ मन्दीप सुवेदी र कानून विज्ञ पदमप्रसाद वैदिकले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको हो।

    यस्तै वन तथा वातावरण मन्त्रालयको प्रस्तावअनुसार वन क्षेत्रभित्रका खोलाखोल्सी व्यवस्थापन कार्यविधि, २०८१ पहिलो संशोधनलाई स्वीकृति प्रदान गरिएको छ। यस्तै सामाजिक विकास मन्त्रालयले प्रदेशस्तरीय मदरसा शिक्षा व्यवस्थापन कार्यविधि, २०७६ को तेस्रो संशोधनलाई मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको छ।